


हेलम्बु, ८ जेठ। सिन्धुपाल्चोकको हेलम्बुमा पुनःनिर्माण थालिएको गुम्बाहरुको कार्य अन्तिम चरणमा पुगेको छ। जसका गत सोमबार र मंगलबार लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमेछिरिङ), भारतीय दूतावासका प्रतिनिधि नारायण सिंह, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधिसहितले गुम्बाहरुको निरीक्षण गरेका हुन्।
पाँच सय वर्ष भन्दा पुराना ऐतिहासिक गुम्बाहरु २०७२ सालको भूकम्पले भत्किएपछि पर्यटकीय महत्व बोकेका गुम्बाहरु निर्माण नहुँदा त्यहाँका स्थानीयहरुले त्यसको प्रत्येक असर भोग्नुपरेको थियो ।

पर्यटन क्षेत्रमा मात्र नभइ जन्मदेखि मृत्यु संस्कारसम्म बौद्ध धर्मावलम्बीहरुको सम्बन्ध जोडिएको पवित्र गुम्बाहरु भत्किदा धार्मिक क्षेत्रमा प्रत्यक्ष असर पुगेको भन्दै करिब १० वर्षपछि पुननिर्माणको अन्तिम रुप लिएको हो ।
भारत सरकारको सहयोग तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण राष्ट्रियस्तरको भवन निर्माण एकाइले पाँच वर्ष अघि १४ अक्टोबर २०२० मा ठेक्का आह्वान गरेर गुम्बाहरुको पुनर्निर्माण कार्यको सुरुवात गरेको थियो ।
गुम्बा पुनर्निर्माणका लागि भारत सरकारले प्रत्येक गुम्बालाई १० करोडभन्दा बढी रकम विनियोजन गरेको भए पनि नेपाल सरकारले ठेक्का आह्वान गर्दा घटेर चिरी गुम्बा ६ करोड ४५ लाख, शेर्माथाङ गुम्बा ५ करोड ५० लाख र तार्के घ्याङ गुम्बा करिब ७ करोडमा ठेक्का सम्झौता भएको थियो। हाल हेलम्बु गाउँपालिकाको चिरी गुम्बा, तार्के घ्याङ गुम्बा र शेर्माथाङ लगायत सिन्धुपाल्चोकका तीन पौराणिक गुम्बाको निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् ।
हेलम्बु गाउँपालिकामा निर्माणाधीन तीन पौराणिक गुम्बामध्ये चिरी गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सितार लामाको अनुसार चिरी गुम्बामा गजुर राख्ने, गुम्बाभित्र मूर्ति प्रतिस्थापन गर्ने र फिनिसिङ, पेन्टिङ र विभिन्न कलाकृतिको काम सम्पन्न भएर निर्माण कार्यको अन्तिम चरणमा रहेको छ ।
चिरी गुम्बा निर्माण सम्पन्नपछि झण्डै १५८ घरधुरी (जजमान) सहभागी भएर वार्षिक झण्डै आधा दर्जन भन्दा बढी लामो तथा छोटो अवधिको नियमित पूजा सम्पन्न गर्ने स्थानीयले बताए। स्थानीयका अनुसार गुम्बा निर्माणपछि विदेशी पर्यटकहरु ध्यान तथा पूजा कार्यक्रममा सहभागी भएर लामो अवधिसम्म यस गाउँमा रहेन छन्। जसको कारण पर्यटन प्रवद्र्धन र विकास पुरानो लयमा फर्किने विश्वास व्यक्त गरेका छन् ।
त्यस्तै तार्केघ्याङ गुम्बा करिब ७ करोडमा ठेक्का सम्झौता भए अनुसार निर्माण कार्यको अन्तिम चरण रहेको तार्केघ्याङ गुम्बाका प्रमुख लामा कृसङ्ग लामाले बताए। उनका अनुसार तार्केघ्याङ गुम्बाको प्राङ्गण निर्माण र केही आर्टको काम ठेक्का सम्झौतामा छुट भएको कारण केही ढिला भए पनि कोषका उपाध्यक्ष लामाले को पहलले केही चन्दा संकलन भएको र भारत सरकारको सहयोग हुने प्रतिवद्धता प्राप्त भएको कारण बाँकी काम केही दिनमै सम्पन्न हुने बताए
यस्तै शेर्माथाङ गुम्बा निर्माणमा ५ करोड ५० लाख सम्झौता भए अनुसार सबै निर्माणको अन्तिम चरणमा रहेको शेर्माथाङ गुम्बाका प्रमुख लामा सार्की लामाले बताए। यी गुम्बा पुरातत्व विभागले दिएको डिजाइन अनुसार प्राचीन शैलीमा नै पुनःनिर्माण भएको छ। अग्राख काठ, चुनासुर्की र ढुंगामाटो प्रयोग बनाइएको गुम्बा भुकम्प प्रतिरोधात्मक छ।

