


बाग्लुङ,९जेठ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मुलुकको मुख्य समस्या भ्रष्टाचार रहेको बताएका छन्।
माओवादी केन्द्रले सञ्चालन गरेको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा बाग्लुङ बजारमा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार निर्मूल पार्न माओवादी केन्द्रको सरकार आवश्यक रहेको बताए।

अभियानमा आमनागरिकका गुनासा र सुझाव ग्रहण गर्दै माओवादी केन्द्र नयाँ ढङ्गले अघि बढ्ने उनको भनाई छ। उनले नेपालमा केही भएन भन्ने निराशा त्याग्न आमजनतालाई आग्रह पनि गरे।
नेपाल समृद्धिउन्मुख रहेकाले नेपालमा केही भएन भन्ने निराशाको अन्त्य गर्दै स्थानीय उत्पादन, घरेलु उद्योग र आत्मनिर्भर कृषि प्रणाली अपनाउन आवश्यक रहेकामा उनको जोड थियो।

