


धादिङ,१०जेठ। काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगा–नौबिसे सडक आजदेखि १६ दिन आंशिक रुपमा बन्द भएको छ ।
नागढुंगा–मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले यसअघि नै सूचना जारी गरी नागढुंगा–नौबिसे खण्डको नागढुंगा–पिप्लामोड १.८ किलोमिटर सडक निर्माण सुधार गर्नुपर्ने भएकाले जेठ १० गतेदेखि २५ गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधनहरु आवतजावत रोकिने जनाएको थियो। उक्त सडकखण्ड बन्द गरेर आयोजनाले सडक निर्माणको काम थालेको छ।

उक्त समयमा काठमाडौँबाट नौबिसेतर्फ जाने सवारीसाधन नागढुंगा चेकपोस्टमा र नौबिसेबाट काठमाडौँतर्फ जाने सवारी साधन खानीखोला बजारमा रोकिने जनाइएको छ।
उक्त अवधिमा साना तथा मझौला सवारीसाधनको लागि वैकल्पिक रुटहरु सीतापाईला–रामकोट–धार्के सडक तथा सामाखुसी–टोखा छहरे–त्रिशूली (विदुर)–गल्छी सडक प्रयोग गर्न आग्रह गरिएको छ।
दमकल, एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने उक्त समयमा पनि निर्वाध सञ्चालन गर्न दिइने सडक योजनाले जनाएको छ।

