


काठमाडौं,११जेठ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन कार्यालयमा छापा मारेर भिजिट भिसासँग सम्बन्धित विषय अनुसन्धान अघि बढाएपछि नेपाली कांग्रेसका नेताहरु दुई कित्तामा देखिएका छन् ।
एक पक्षले तालुक गृहमन्त्रालयका मन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने सुझाएका छन् भने अर्को पक्षले कर्मचारीले गरेको गल्तीमा मन्त्रीले राजीनामा दिए गलत नजिर बस्ने बताएका छन् ।

विराटनगरमा आयोजित पत्रकार भेटघाटमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गृहमन्त्रीको बचाउ गर्दै कुनै कर्मचारीले गरेको गल्तीलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्ने बताए । उनले कर्मचारीमाथी आरोप लागेको र अख्तियारले छानबिन गरिरहेकोले केही समय पर्खिनुपर्ने बताए।
शनिवार विराटनगरबाट नै कांग्रेस नेता डा. शेखर कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सुझाएका थिए। गृहमन्त्री रमेश लेखकले उक्त प्रकरणमा आफ्नो कुनै संग्लनता रहेका स्पष्टिकरण दिएका छन् ।

