


विराटनगर,१४ जेठ। विराटनगरमा मोनोस्लेड कोब्रा नामक सर्प फेला परेको छ। यो दुर्लभ सर्प मानिन्छ ।
विराटनगर महानगरपालिका-४ स्थित एक व्यक्तिको घरमा उक्त सर्प फेला परेको हो। सर्प उद्दारका लागि महानगरपालिकाबाट पुगेका उद्दारकर्ता हबल्दार शम्भु घिमिरेको अनुहारमा सर्पले विष फालेपछि उपचारका लागि उनलाई अस्पतालमा भर्ना गर्नुपरेको थियो।

घटना गत जेठ १० गतेको हो। यो सर्पले जोखिम महसुस गरे परैबाट विष फाल्ने गर्छ।
कर्मचारी घिमिरेले डिभिजन वन कार्यालय मोरङमार्फत जंगलमा लगेर सर्प छाड्ने गर्छन्। उद्दार गरेर ल्याएको सर्पलाई केजमा राख्न खोज्दा सर्पले फालेको विष उनको अनुहारमा लागेको थियो। त्यसपछि अस्पताल भर्ना भएका उनी २८ घण्टापछि घर फर्किएका थिए ।
उनले सर्पलाई जंगलमा लगेर छाडिसकेका छन्। विराटनगरमा उनले हालसम्म ३९० वटा सर्प उद्धार गरी जंगलमा लगेर छाडिसकेका छन् ।

