


भैरहवा,२१ जेठ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कृषि क्षेत्रमा सिंचाईका लागि धमाधम बोर गाड्न सुरु गरिएको छ। गत वर्ष पालिकाको वडा नम्बर १० मा ९ वटा बोर गाडिएको थियो। यो वर्ष वडा नम्बर ११ मा ६ वटा बोर गाड्ने काम धमाधम भइरहेको नगरपालिकाले जनाएको छ।
सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले पालिकामा बजेट अपुग भएपछि व्यक्तिगत लगानीमै ५ वटा बोर जडान गरेका थिए। उक्त वडामा बाँकी ८ वटा गरी १३ वटा बोर जडान गरिएको थियो।

निर्वाचनमा कृषि उत्पादन बढाउनको लागि कृषकहरुसँग सिंचाई सुविधाको प्रतिवद्धता गरेका मेयर खाँले नगरको बजेट कम हुँदा आफ्नै १० लाखको लगानीमा ५ वटा बोर जडान गरेका थियो।
सुख्खा क्षेत्रमा बोरमार्फत सिंचाई सेवा सुरु भएपछि किसानलाई राहत भएको र नगरप्रमुखले आफ्नै लगानीमा निःशुल्क बोर जडान गरी सिंचाईको व्यवस्था गरेपछि किसान थप उत्साहित बनेको कृषक माधव मुराउले बताए।
कृषक चन्द्रवती कोईरीले सिंचाईको अभावमाा पशुलाई घाँस पनि राम्रोसँग उब्जनी नहुने जमिनमा सिंचाई सुविधापछि किसानहरु उत्पादन बढाउन सफल भएको बताइन्। कृषिमा सिंचाईका लागि नगरप्रमुख खाँले खेलेको भूमिका उदाहरणीय रहेको उनको भनाई छ।
यो वर्ष पालिकाको १० लाखको लगानीमा वडा नम्बर ११ मा ६ वटा बोर जडान गर्ने काम भइरहेको मेयर खाँले जानकारी दिए । बोरसँगै विपन्न वर्गका लागि स्वच्छ पिउने पानीका लागि ट्युबेल जडान समेत गरिएको छ ।
किसानहरुलाई सुख्खा ठाँउमा सिंचाईको सुविधा पुर्याएसँगै किसानहरुको दैनिकीमा फेरबदल हुनुका साथै किसानले राहतको महसुस गरेको नगरप्रमुख खाँले बताए। सिद्धार्थनगर औद्योगिक, पर्यटकीय नगरसँगै यहाँका केही क्षेत्रहरु कृषि उब्जाउमा समेत पकेट क्षेत्र रहेकाले अन्य क्षेत्रको विकाससँगै पालिकाले कृषि क्षेत्रलाई समेत प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाई छ।

