
काठमाडौं,२१जेठ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको बताएका छन्। बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै गुरुङले गृहमन्त्रीविरुद्ध ठोस प्रमाण नरहेको र छानविनको प्रक्रिया समेत अघि नबढेकाले राजीनामा दिन आवश्यक नरहेको बताएका हुन्।
उनले प्रतिपक्षीले उठाएका विषयमा सदनमा गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने धारणा राखे। दलहरुबीच निरन्तर छलफल भइरहेकाले छिटै समस्या समाधान हुने उनको भनाइ छ। भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरुले अवरोध गरेपछि संसद बैठक प्रभावित भएको छ। मंगलबारदेखि बजेटमाथि छलफल हुने कार्यसूची भएपनि आजसम्म बैठक बस्न सकेको छैन।
Advertisement

Advertisement
Advertisement

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठन हुनुपर्ने विपक्षी दलको अडानका कारण बैठक निर्धारित समयमा बस्न नसकेको हो।
संसदको अवरोध हटाउन सभामुख देवराज घिमिरे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुका सचेतकहरुसँग छलफलमा जारी राखेका छन्। समिति गठन गर्ने विषयमा सत्ता पक्ष र विपक्षी दलहरुबीच सहमति हुन सकेको छैन।

