
भैरहवा,२२जेठ। भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा व्यवसायिक घराना भाटभटेनी समूह भित्रिएको छ।
भाटभटेनीका सुपर मार्केटका अध्यक्ष एवं प्रबन्धक निर्देशक मीनबहादुर गुरुङ,उमेश श्रेष्ठसहितको समूहले डेढ अर्ब लगानीमा संचालन हुने गार्मेन्ट उद्योग निर्माणका लागि भूमि पुजन तथा शिलान्यास गरिएको छ। उक्त उद्योगको क्षेत्रफल १ विगाह १३ कट्ठा रहेको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उद्योगको शिलान्यास गर्दै अध्यक्ष गुरुङले नेपालमा केही हुँदैन भन्ने भ्रम तोड्नका लागि औद्योगिक क्षेत्रमा लगानी विस्तार गरेको र मुलुकमा लगानीको वातावरण रहेको बताए। नौ महिना भित्र उद्योग सञ्चालनमा ल्याउने तयारीसहित काम सुरु गरिएको उनले जनाए।
उनका अनुसार उद्योगमा १ हजार २ सय बढीले रोजगारी पाउने र ९८ प्रतिशत बढी स्थानीय तथा नेपालकै श्रमिक रहने छन्। ‘उद्योगमा उत्पादित कपडाहरु विदेशमा निर्यातसँगै भाटभटेनी सुपर स्टोरमा पनि विक्रीका लागि राख्नछौं’,उनले भने,‘उद्योगले थोरै भएपनि मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने विश्वास लिएका छौं।’
सेजमा स्थापना गर्न लागिएको उद्योगमा व्यवसायी उमेश श्रेष्ठ, रामकृष्ण खतिवडा, किरण श्रेष्ठलगायतको पनि लगानी छ। अध्यक्ष गुरुङले सरकारले सेजमा स्थापना हुने उद्योगका लागि विशेष सुविधाहरु उपलब्ध गराएकोले लगानीको वातावरण बन्दै गएको बताउँदै निजी क्षेत्रले उत्पादनमा लगानी गर्न आह्वान समेत गरे ।
‘हामी जस्तै अरुसँग पनि क्षमता छ तर, आत्मविश्वासको कमी मात्रै हो’,उनले भने, ‘अब सबैले मिलेर देशमा केही गर्नुपर्छ।’

भैरहवा सेजमा भाटभटेनी समूहको लगानी भित्रिनु यहाँका व्यवसायीहरुका लागि पनि उत्साहको विषय भएको भैरहवा सेज कार्यालयका सहायक निर्देशक सपुत डुम्रेले बताए। उनका अनुसार सेजामा हाल १३ वटा उद्योग मध्ये ११ वटा उद्योग सञ्चालनमा र २ वटा बन्द अवस्थामा छन्। आगामी ६ महिना भित्र थप उद्योगहरु पनि सञ्चालनको तयारीमा रहेको उनले बताए।
देशभरका मुख्य शहरमा भाटभटेनीका २८ वटा सुपरस्टोर सञ्चालनमा छन्। पछिल्लो समय अध्यक्ष गुरुङले भाटभटेनी मार्फत लगानी विविधिकरणमा आक्रमक रुपमा लागेका छन्।
भाटभटेनी मार्फत नेपालकै सपिङ ट्रेन्डलाई परिवर्तन गरेका उनी पछिल्लो समय विविध प्रकारको लगानीमा आक्रामक देखिएका हुन्। भाटभटेनी सुपर स्टोरलाई देशकै नम्बर वान सुपरमार्केट बनाउन सफल भएका उनले अब लागानीलाई विविधिकरण गर्दै लैजाने क्रममा स्टोर, उद्योग, पर्यटन, कृषि, रियलस्टेट, स्वास्थ्यसँगै निर्यात मूलक उद्योगका भैरहवा सेजमा अत्याधुनिक गामेन्ट उद्योगमा लगानी विस्तार गरेका हुन्।
भाटभटेनी समुहले रोड सो रियल स्टेटको साझेदारीमा केही समय अघि काठमाडौँको चाहविलमा बहुतले लक्जरियस अपार्टमेन्ट निर्माण सुरुवात थालिसकेको छ। विराटनगरमा भएको कोशी लगानी सम्मेलन मार्फत सरकारले अनुकूल वातावरण तयार पारे भाटभटेनीले आफ्नो लगानी विस्तार गरेर ६० अर्ब पुर्याउने समेत अध्यक्ष गुरुङले घोषणा गरेका थिए।
काठमाडौंको दरबारमार्गमा व्यवसायी उमेश श्रेष्ठसँगको साझेदारीमा भाटभटेनीको अन्नपूर्ण स्क्वायर होटेल निर्माणधिन अवस्थामा छ भने पर्यटकलाई लक्षित गरी चितवनको टाँडीमा अहिलेसम्मकै ठुलो स्टोर बन्दैछ। त्यस्तै, चितवनको टाँडीमानै ७२ हजार वर्ग फिटमा नेपालकै ठुलो अत्याधुनिक कोल्ड स्टोर निर्माणाधीन छ। अन्नपूर्ण स्क्वायर होटेल र कोल्ड स्टोर दुवैमा व्यवसायी उमेश श्रेष्ठको पनि साझेदारी रहेको छ।
यस्तै विराटनगरमा निर्माणाधिन होटेल सेन्चुरियन १५५ करोडमा खरिद गरेका अध्यक्ष गुरुङले २ वर्ष भित्रैमा भाटभटेनीको नाममा पाँचतारे होटेल सञ्चालनमा ल्याउने तयारीका साथ अघि बढेका छन् ।

