
काठमाडौं,२३जेठ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-७ स्थित श्री कृष्णा उच्च माध्यमिक विद्यालयको भवन निर्माणका क्रममा अनियमितता गरेको आरोपमा उनीहरुविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर भएको हो।
विद्यालय भवन निर्माणका लागि विनियोजन रकममा अनियमितता गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा फिल्डमा हुँदै नभएको कार्य भएको भनी रकम निकासा गरी २५ लाख ५० हजार रकम दुरुपयोग गरेको अख्तियारको ठहर छ।
Advertisement

Advertisement
Advertisement

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार जिशिअ नेपालसहित जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन इन्जिनियर बृधन यादव र सब इन्जिनियर शिवराज राई, तत्कालीन लेखा अधिकृत भुवन प्रसाद आचार्य र लेखापाल सुरेश कुमार श्रेष्ठ मुद्दा दायर गरेको हो।
यस्तै आयोगले श्री कृष्ण उच्च माध्यमिक विद्यालय टेम्माका तत्कालीन प्रधानाध्यापक खेमराज मगर, सोही विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम राई र हरिनारायण राई र विद्यालयको भवन निर्माण गर्ने व्यक्ति जय प्रसाद राईलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो। उनीहरुविरुद्ध २५ लाख ५० हजार बिगो र सजायको मागदावी गरिएको छ।
भवन निर्माणको कार्यमा इष्टिमेट अनुसार गुणस्तरको सामग्री प्रयोग नभएको, ढकालनको बिमा चर्केको र फिनिसिङ नभएको एवं भवन पठनपाठन गर्न अयोग्य रहेको देखिएता पनि उक्त विद्यालयको निर्माण कार्यको जिम्मेवारी बहन नै नगरी विद्यालयको खातामा रहेको र कम निकासा गर्न नापी किताब तथा मूल्यांन प्रतिवेदन समेत हस्ताक्षर गरी २५ लाख ५० हजार रकम निकासा गरेको अख्तियारको दावी छ।
त्यस्तै उनीहरुले फिल्डमा हुँदै नभएको कार्य नापी किताबमा समावेश गरी ४१ लाख २० हजार ४२८ रकमको मूल्यांकन प्रतिवेदनलाई सदर गरेको र गुणस्तरहिन कार्य भएको भनी प्राविधिक प्रतिवेदनमा उल्लेख भएको हुँदाहुँदै सो कार्य सुधार नगरी बजेटको अति आवश्यक रहेको देखाइ झुट्टा बिल भरपाईका आधारमा रकम निकासाको लागि सदर गरी २५ लाख ५० हजार बराबरको रकम आफूलाई लाभ र सरकारलाई गैरकानुनी हानि पुर्याउने बदनियतले कार्य गरेको अख्तियारले दायर गरेको आरोप पत्रमा उल्लेख छ।

