


काठमाडौं,२६जेठ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, पोखरामा स्वीकृत अर्डर विपरित डिजेल लोड गरेर निगमलाई आर्थिक नोक्सानी पुर्याएको आरोपसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले डिपो प्रमुख चितरञ्जन दाससहित कास्की तालचोकस्थित पश्चिमाञ्चल ट्रेडर्सका सञ्चालक बाबुराम जमरकट्टेल, गण्डकी धौलागिरी पेट्रोलियम एसोसिएसनका तत्कालीन प्रतिनिधि जगन्नाथ ढुंगाना, लक्ष्मण रानाभाट र ट्यांकर चालक निर्मल थापाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।

उनीहरुमाथि १२ हजार लिटर डिजेलको स्वीकृत अर्डर विपरित १५ हजार ३८ लिटर डिजेल लोड गरेर निगमलाई आर्थिक नोक्सानी पुर्याएको आरोप छ। आरोपीहरुले मिलेमतोमा सिसी क्यामेरा बन्द गरी बिलमा उल्लेखभन्दा ३ हजार ३८ लिटर बढी डिजेल लोड गरेको अख्तियारको ठहर गरेको छ।
प्रत्येक लिटर डिजेलको मूल्य १४७ रुपैयाँको दरले निगमलाई चार लाख ४८ हजार ५२५ रुपैयाँ हानि पुर्याएको आयोगको दाबी छ। आयोगले सोही परिमाणको बिगो कायम गर्दै सजायको मागसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उक्त घटना २०८० साउन २५ गतेको हो। ग २ ख ८३६ नम्बरको ट्यांकरमा डिजेल लोड गरिएको र पोखरा महानगरपालिका–२७ स्थित डाँडाको नाकामा जाँचका क्रममा अतिरिक्त डिजेल भेटिएको अख्तियारले जनाएको छ।

