
कैलाली,२६जेठ। कैलालीको टिकापुर नगरपालिका–७ सत्तीमा एक महिला र प्रहरीबीच भएको भनाभन तथा हात हालाहालको घटना सामाजिक सञ्जालमा भाइरल भएको छ।
शनिबार दिउँसो घटेको उक्त घटनाको भिडिओ सार्वजनिक भएपछि प्रहरीको कार्यशैली र नागरिकको व्यवहारबारे बहस चर्किएको छ।
Advertisement

Advertisement
Advertisement

भिडियोमा राजकुमारी कुँवर शाह नामक एक महिला स्कुटरको पछाडि बसेकी देखिन्छिन् भने स्कुटर एक बालकले चलाइरहेका छन्। प्रारम्भमा एक हवल्दारले स्कुटर रोकेका थिए भने पछि सादा पोशाकमा रहेका सई यज्ञराज पन्तले हस्तक्षेप गरेका थिए। बालकले लाइसेन्सविनै स्कुटर चलाएको पाइएपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा महिला आक्रोशित भएकी थिइन्।
भिडियोमा महिलाले प्रहरीलाई अपमानजनक शब्द प्रयोग गर्दै “तँ” भनेर सम्बोधन गरेकी छन्। उनले आफूलाई रोकिनुको कारण बारम्बार सोध्दै थिइन्। बालकले स्कुटर आफूले चलाएको स्वीकार गरेको भिडिओमै स्पष्ट देखिन्छ।
विवाद चर्किँदै जाँदा सई पन्तले भिडियो खिच्न थालेपछि महिलाले झर्किँदै मोबाइल झिकेर भुइँमा फालेकी देखिन्छिन्। त्यसपछि दुवै पक्ष एकअर्कासँग आक्रोशित हुँदै हात हालाहालमा उत्रिएको देखिन्छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले प्रारम्भिक छानबिनमा महिलाबाट गल्ती देखिए पनि प्रहरीले हात हाल्नु पनि अनुचित भएको जनाएको छ। घटनाको थप छानबिन गर्न डीएसपी राजकुमार सिंहको नेतृत्वमा समिति गठन गरिएको छ।
सामाजिक सञ्जालमा यो विषय भाइरल बनेसँगै महिलालाई व्यापक गालीगलौज भइरहेको छ। कतिपयले महिलाले प्रहरीलाई बेइज्जती गरेको भन्दै आलोचना गरिरहेका छन् भने कतिपयले सादा पोशाकमा रहेका प्रहरी अधिकारीले आफू प्रहरी भएको पुष्टि नगरी हस्तक्षेप गर्नु अनुचित भएको तर्क गरिरहेका छन्।

