
भैरहवा,१असार। पछिल्लो पाँच महिना (जनवरी देखि मे) मा भैरहवा नाकाहुँदै ५० हजार ६ सय ४ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। यो नाका हुँदै सन् २०२४ को सोही अवधिमा कुल ४४ हजार ७ सय ३५ विदेशी पर्यटक आएका थिए।
गत वर्ष भन्दा यस वर्ष विदेशी पर्यटक आगमन वृद्धि भएको र ५ महिनामा ५ हजार ८ सय ६९ बढी पर्यटक आएको अध्यागमन कार्यालय भैरहवाका सूचना अधिकारी एवं कार्यालयका निमित्त प्रमुख पुकार श्रेष्ठले बताए।
Advertisement

Advertisement
Advertisement

चालु वर्षको ५ महिनामा कुल ५० हजार ६ सय ४ विदेशी पर्यटक भित्रिदा सोही अवधीमा यस नाका हुँदै ४९ हजार ९ सय ५१ पर्यटक बाहिरिएका छन्। यो नाकाबाट विगतमा सन् २०१८ मा सर्वाधिक पर्यटक भित्रिएका थिए। सो वर्ष १ लाख ६६ हजार २ सय ३५ पर्यटक आएका थिए। जुन हालसम्मकै सर्वाधिक हो। त्यसपछि भने स्थलमार्ग हुँदै पर्यटक आगमन निरन्तर ओरालो लागेको थियो।
कोरोना महामारी सुरु भएको वर्ष २०१८ मा १ लाख ६१ हजार ६ सय ९१ विदेशी पर्यटक यो नाका हुँदै आएका थिए। त्यस्तै २०२० मा ४३ हजार ३ सय ६७, सन् २०२१ मा ८१२, सन् २०२२ मा २० हजार २ सय २० र अघिल्लो वर्ष ८१ हजार ५ सय ५१ पर्यटक आएको कार्यालयले जनाएको छ।
कोरोना महामारीका कारण न्यून भएको पर्यटक आगमन गत वर्ष देखि वृद्धि हुँदै गएको छ। यो नाका हुँदै भारतीय पर्यटकहरु पनि अत्यधिक आउने गरेका छन्। तर, यसको आधिकारिक तथ्यांक सरकारसँग छैन।
कार्यालयका सूचना अधिकारी श्रेष्ठका अनुसार सन् २०२५ को पछिल्लो पाँच महिनामा सर्वाधिक श्रीलंकाबाट १३ हजार ७ सय हजार ५३ जना, थाइल्याण्डबाट ११ हजार ८ सय ३३, म्यान्मारबाट ९ हजार १ सय ४७, भियतनामबाट ३ हजार ६ सय ६१, दक्षिण कोरियाबाट १ हजार ९ सय ६९ लगायत १ सय बढी देशका नागरिक यस नाकाबाट मुलुकमा भित्रिएका छन्।
यो नाका हुँदै चिनिँया पर्यटकको आगमन सन् २०२१ बाटै शून्य छ। सन् २०१८ मा ५ हजार २५, सन् २०१९ मा ६ हजार १ सय ८ र २०२० मा ८ सय १३ चिनिँया बेलहिया नाका हुँदै नेपाल आएका थिए। यो नाका हुँदै आउने पर्यटकहरुको मुख्य गन्तव्य बुद्धजन्म स्थल लुम्बिनी रहेको छ। त्यसपछिको रोजाइ पाल्पा, पोखरा, मुक्तिनाथ,काठमाण्डौ, सौराहा रहेको छ। लुम्बिनी आउने पर्यटक मध्ये केही कपिलबस्तु र रामग्राम समेत पुग्ने गरेका छन्।
यो नाका हुँदै नेपाल प्रवेश गर्नेहरु मध्ये अधिकांश बौद्ध धर्मप्रति आस्थावान मुलुकका रहेका छन्। स्थलनाका हुँदै लुम्बिनी पुग्ने पर्यटकहरु मुस्किलले १ रात त्यहाँ बस्ने गरे पनि धेरै पर्यटक सोही दिननै फर्किने गरेका छन्। यसले गर्दा जति बढी पर्यटक आए पनि लुम्बिनी भैरहवा क्षेत्रका पर्यटन व्यवसायीले फाइदा लिन नसकेको लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीले बताए।
ं

