
परासी,५असार। पश्चिम नवलपरासी जिल्लाका सात स्थानीय तहहरुमध्ये सुनवल नगरपालिकाले सबैभन्दा बढी बेरुजु रकम फछ्र्यौट गरेको छ।
स्थानीय तहमा जनप्रतिनिधिहरु आएसँगै चुलिँदै गएको बेरुजु रकममध्ये आर्थिक वर्ष २०८०/०८१ सम्म सुनवल नगरपालिकाले सबैभन्दा बढी रकम फछ्र्यौट गरेको हो। पाल्हीनन्दन गाउँपालिकाको रकम फछ्र्यौटको अवस्था शून्य छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

जनप्रतिनिधिहरु चुनिएर आएपछिको आर्थिक वर्ष २०७४/०७५ देखि २०८०/०८१ सम्म जिल्लाका स्थानीय तहको कुल बेरुजु रकम २ अर्ब १९ करोड ३१ लाख ५ हजार पुगेको छ। जसमध्ये ४३ करोड ४ लाख ९१ हजार मात्र फछ्र्यौट भएको महालेखापरीक्षकको कार्यालयले हरेक वर्ष प्रकाशन गर्ने वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ। जिल्लाका सात स्थानीय तहले अझै १ अर्ब ७६ करोड २६ लाख १६ हजार बेरुजु फछ्र्यौट गर्न बाँकी देखिएको छ ।
सबैभन्दा बढी रकम फछ्र्यौट गरेको सुनवल नगरपालिकाले ४२ दशमलव ५३ प्रतिशत अर्थात् कुल बेरुजु रकम ५३ करोड ७० लाख ९४ हजारमध्ये २२ करोड ८४ लाख ५५ हजार फछ्र्यौट गरेको छ। कुल बेरुजु रकम २४ करोड ७६ लाख २४ हजार रहेको रामग्राम नगरपालिकाले ११ दशमलव ५९ प्रतिशत अर्थात् २ करोड ८७ लाख २ हजार फछ्र्यौट गरेको छ। कुल बेरुजु रकम २५ करोड ५८ लाख ३ हजार रहेको बर्दघाट नगरपालिकाले ३६ दशमलव २३ प्रतिशत अर्थात् ९ करोड २६ लाख ७५ हजार फछ्र्यौट गरेको छ।
त्यस्तै कुल बेरुजु रकम १५ करोड ९७ लाख ३० हजार रहेको सरावल गाउँपालिकाले २८ दशमलव ६३ प्रतिशत अर्थात् ४ करोड ५७ लाख ३९ हजार फछ्र्यौट गरेको छ। कुल बेरुजु रकम ३२ करोड ४१ लाख २१ हजार रहेको प्रतापपुर गाउँपालिकाले १३ दशमलव ६३ प्रतिशत अर्थात् ४ करोड ४१ लाख ९८ हजार फछ्र्यौट गरेको छ।
कुल बेरुजु रकम २० करोड १४ लाख ६० हजार रहेको सुस्ता गाउँपालिकाले शून्य दशमलव ३५ प्रतिशत अर्थात् ७ लाख २२ हजार मात्र फछ्र्यौट गरेको छ। कुल बेरुजु रकम ४६ करोड ७२ लाख ७३ हजार बेरुजु देखिएको पाल्हीनन्दन गाउँपालिकाले अहिलेसम्म भने रकम फछ्र्यौट गर्न सकेको छैन। बेरुजु भनेको अनियमित, अप्रमाणित वा लेखा मिलान नभएको खर्च हो।

