
परासी,५असार। लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट–बुटवल सडकखण्ड अवरुद्ध भएको छ। विनयी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएपछि उक्त सडक दुईतर्फी रुपमा बन्द भएको हो।
प्रहरीका अनुसार खोलामा पानीको बहाव उच्च भएकाले सानो बाढी आउँदा पनि डाइभर्सन पटक–पटक बगाउने गरेको छ। हालसम्म सो डाइभर्सन ६ पटक बगिसकेको जनाइएको छ।
Advertisement

Advertisement
Advertisement

त्यस्तै, बाटो चिप्लो र हिलो भएका कारण सवारी साधन फस्ने समस्या समेत देखिएको छ। यस अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) ले बिहीबार सूचना जारी गर्दै यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको हो।
दुम्कीबास–दाउन्ने सडकखण्ड अन्तर्गत पर्ने विश्वकर्मा मन्दिर र झ्युखोला क्षेत्रहरुमा पनि सडक चिप्लो भई सवारी साधन फस्ने र चिप्लिने समस्या देखिएको छ । जसका कारण आवागमनमा पूर्ण अवरोध भएको प्रहरीको भनाइ छ।
सडक अवरुद्ध भएपछि प्रहरीले सवारी साधनलाई वैकल्पिक मार्गबाट आवतजावत गर्न अनुरोध गरिएको हो।पूर्वबाट पश्चिमतर्फ जाने सवारी साधनलाई नारायणगढबाट मुग्लिङ, पोखरा र स्याङ्जा हुँदै बुटवल जान भनिएको छ।
त्यसैगरी, काठमाडौंबाट पश्चिम जाने सवारी साधनले पनि मुग्लिङ(पोखरा(स्याङ्जा हुँदै बुटवलको बाटो प्रयोग गर्नुपर्नेछ।पश्चिमबाट पूर्वतर्फ आउने सवारी साधनले पनि सोही मार्ग, अर्थात् बुटवलबाट स्याङ्जा, पोखरा र मुग्लिङ हुँदै यात्रा गर्नुपर्ने सूचनामा उल्लेख छ।
साना सवारी साधनका लागि भने अवस्था हेरेर कालिगण्डकी करिडोर अन्तर्गतको गैंडाकोट(पिपलडाँडा सडकखण्ड प्रयोग गर्न सकिने विकल्प पनि दिइएको छ।
प्रहरीले जारी गरेको विज्ञप्तिमा राजमार्ग पूर्ण रुपमा नखुलेसम्म अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रा गर्नै परे तोकिएका वैकल्पिक मार्ग अपनाउन अनुरोध गरिएको हो।


