


काठमाडौं,६असार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरिया नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित चार जनालाई नियन्त्रणमा लिएको छ।
पालिकामा विभिन्न योजना स्वीकृति, कर्मचारी नियुक्ति लगायतका काममा भ्रष्टाचार भएको उजुरीका आधारमा अनुसन्धानका लागि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव, नायव सुब्बा संदीप साहलाई नियन्त्रणमा लिइएको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए।

श्रीवास्तव र साह हाल पर्साकै बहदुरमाई नगरपालिकामा कार्यरत थिए। आयोगको टोलीले श्रीवास्तवलाई वीरगञ्ज महानगरपालिका–१२ स्थित प्रतिमा चोकबाट तथा साहलाई वीरगञ्ज महानगरपालिका–३ स्थित प्रगतिनगरबाट नियन्त्रणमा लिएको हो। उनीहरुको साथबाट चार थान मोबाइल फोन पनि बरामद गरिएको छ।
यस्तै पोखरिया नगरपालिकाका हालका प्रमुख प्रशासकीय अधिकृत राम विनय कुमार सिंह र वडा नम्बर २ का सचिव ओम प्रकाश चौरसियालाई समेत अनुसन्धानका लागि नियन्त्रणमा लिइएको आयोगले जनाएको छ। उनीहरुबाट पनि दुई थान मोबाइल जफत गरिएको छ।

