
भैरहवा, ९ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ९२ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
सोमबार बसेको दोस्रो नगरसभाको सातौं अधिवेशन (तेस्रो बैठक) मा उपप्रमुख जगेश्वरदेवी चौधरीले बजेट प्रस्ताव प्रस्तुत गर्दै चालु खर्चतर्फ ४४ दशमलव १७ प्रतिशत र पूँजीगतर्फ ५५ दशमलव ८३ प्रतिशत रहने अनुमान गरिएको बताइन्।
Advertisement

Advertisement
Advertisement

गत वर्षको तुलनामा बजेटमा करिब १७ करोड रुपैयाँको वृद्धि भएको छ। अघिल्लो वर्ष तिलोत्तमाले २ अर्ब ७६ करोडको बजेट प्रस्तुत गरेको थियो।
उपप्रमुख चौधरीले आव २०८२/०८३ का लागि तिलोत्तमाले आन्तरिक राजस्वतर्फ ३३ करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरण तथा बचतबाट २ अर्ब ५९ करोड ९३ लाख ७१ हजार रुपैयाँ प्राप्त हुने लक्ष्य लिएको बताइन्। उनले ‘समृद्ध नगरःसुखी नगरबासी’ भन्ने लक्ष्य हासिल गर्नको लागि बलियो आधार तय गर्नु बजेटको मूल उद्देश्य रहने बताइन्।
उनका अनुसार शिक्षा क्षेत्रमा लगानी गरी समग्र नगरको शिक्षाको सर्वागीण विकास र गुणस्तरमा वृद्धि, सरल, सहज र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सबै नगरबासीमा सुनिश्चित गर्ने, उद्यमशीलताको विकास र नवप्रर्वतनमा आधारित योजनमार्फत रोजगारी सिर्जना गर्ने, वातावरण, विपद् व्यवस्थापन क्षेत्रमा लगानी वृद्धि गरी समुन्नत र सुरक्षित नगर निर्माण गर्ने बजेटको उद्देश्य रहेको छ।
तिलोत्तमा नगरपालिकाले शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको परिणात्मक अभिवृद्धि गर्ने, प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधार लगानी, उद्यमशीलता, रोजगारी, कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने उपप्रमुख चौधरीले बताइन्।
त्यस्तै वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनका जोखिम पहिचान तथा न्यूनीकरण, सामाजिक क्षेत्रमा गुणात्मक सुधार, समन्यायिक विकास र विकासका प्रतिफलमा न्यायपूर्ण पहुँच कायम गर्ने, समतामूलक समाज र समावेशी विकासलाई अगाडि बढाउने र गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवद्र्धन गर्ने जस्ता कार्यक्रमले बजेटमा प्राथमिकता दिइएको छ।
तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणको अध्यक्षतामा भएको बैठकमा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, कार्यपालिका सदस्यहरु, वडाअध्यक्षहरु, सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

