


काठमाडौं,१०असार। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले आगामी जुलाई महिनाबाट युरोपका उच्च मानवअधिकार भएका मुलुकहरुमा संस्थागत रुपमा नेपाली श्रमिक पठाउने व्यवस्था मिलाइएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री भण्डारीले यस्तो जानकारी दिएका हुन्।
उनले आन्तरिक रोजगार प्रवर्द्धन कार्यक्रमलाई नयाँ र प्रभावकारी ढंगले अघि बढाउने तयारी भइरहेको पनि उल्लेख गरे। मन्त्री भण्डारीले मुलुकको मानव संसाधन विकास गरी दक्ष र सीपयुक्त जनशक्तिलाई नेपालमै रोजगारीमा संलग्न गराउन मन्त्रालय प्रयत्नशील रहेको बताए।

नीतिगत सुधारका क्रममा श्रम आप्रवासन नीति अन्तिम स्वीकृतिको चरणमा रहेको र सबै स्थानीय तहमा एकीकृत श्रम तथा रोजगार सेवा प्रदान गर्ने गरी कार्यक्रम तर्जुमा गरिएको उनले बताए। मन्त्री भण्डारीले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन श्रमिकको मानवअधिकार तथा अन्तर्राष्ट्रिय श्रम संगठनका मूल्य र मान्यतालाई अवलम्बन गरिएको धारणा राखे।
उनले वैदेशिक रोजगारीमा जाने श्रमिकको सुरक्षा र सेवा सुविधा सुनिश्चित गर्न थप कार्य गर्ने प्रतिबद्धता जनाए। साथै, इरान र इजरायलबीच उत्पन्न संकटमा नेपाली तथा नेपाली श्रमिकमा पर्न सक्ने प्रभावका बारेमा मन्त्रालय सजग र तयारी अवस्थामा रहेको पनि उनले जानकारी दिए।

