


काठमाडौं,१०असार। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक ल्याइने र दर्ता नहुने प्लेटफर्महरुलाई सरकारले व्यवस्थापन गर्ने बताएका छन्।
सञ्चार मन्त्रालयले तीन पटकसम्म दर्ताका लागि आह्वान गर्दा समेत दर्ता नभएको भन्दै सरकारले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक निर्माण गरिरहेको बताए । उनले विभिन्न माध्यमबाट सम्पर्क गरेर उनीहरूसँग छलफल गर्दा सोसल मिडिया नियमन गर्ने विधेयक पनि नभएको देश भनेर हेपेर बोल्ने गरेको बताए ।

उनका अनुसार विभिन्न माध्यमबाट सम्पर्क गर्दा सामाजिक सञ्जालका प्रतिनिधिहरूले नेपालमा सामाजिक सञ्जाल नियमन गर्ने विधेयकसमेत नभएको भन्दै हेपेर बोल्ने गरेका छन्। उनले सबै सामाजिक सञ्जाल नेपालमा दर्ता हुनुपर्ने र नेपालको कानुन मान्नुपर्नेमा जोड दिए। यसका लागि विधेयक पास भएसँगै यी समस्या समाधान हुने विश्वास उनले व्यक्त गरे।
‘सामाजिक सञ्जाल प्लेटफर्म अहिले पनि दर्तामा आएको छैन। तीन पटक हाम्रो मन्त्रालयले दर्ता गर भनेर आह्वान गरेको थियो। उनीहरु आएका छैनन्’, मन्त्री गुरुङले भने, ‘विभिन्न च्यानल प्रयोग गरेर सम्पर्क गर्ने प्रयत्न गरेका थियौँ। सम्पर्क पनि गरेका थियौँ। हामीलाई हेपेर बोल्ने, तिमीहरुको देशमा सोसल मिडियामा नियमन गर्ने विधेयक पनि नभएको देश भनेर आलोचना गरेर बसिरहेका छन्।’
उनले थपे, ‘दर्ता भएको र ‘पोइन्ट अफ कन्ट्याक्ट’ तोकेको भए त्यसको आधारमा हामीसँग कन्टेन्ट मोडरेसन र फिल्ट्रेसनको अधिकार मन्त्रालयले पाउँथ्यो। त्यसपछि उनीहरूको कन्टेन्ट यो भएन हटाउनुपर्छ भन्न सक्थ्यौँ। त्यो नभएकाले समस्या पारिरहेको छ।’
उनकाका अनुसार विधेयक पास नहुन्जेलसम्म निर्देशिकाका आधारमा सामाजिक सञ्जालहरु सञ्चालन गरिनेछ। यदि निर्देशिकाअनुसार पनि नआएमा नेपालको कानुन नमान्ने, नियम नमान्ने र सरकारसँग सम्पर्क नगर्नेहरुलाई सधैँ मान दिएर राख्न नसकिने र उनीहरुको व्यवस्थापन सरकारले गर्ने स्पष्ट पारे।

