


चितवन,११असार। अण्डा उत्पादनमा करिब २५ प्रतिशतले गिरावट आउँदा अण्डको मूल्य बढेको छ। उत्पादन घटेसँगै माग बढ्दा अण्डाको मूल्यमा पनि उल्लेखनीय वृद्धि भएको हो।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालले गर्मीका कारण कुखुराले दाना कम खाँदा अण्डा उत्पादन पनि कम भएको बताए । “पच्चीस प्रतिशत हाराहारी उत्पादन घटेको छ । यो मौसममा रोग देखिने गर्दछ, पानी परेर आद्रता बढ्दा कुखुरालाई गर्मीको तनाव झन् बढ्छ । जसले उत्पादन घटाउँछ”, उनले भने ।

नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार, हाल दैनिक अण्डा उत्पादन ३० हजार कार्टुनभन्दा कममा झरेको छ। जुन चार महिनाअघि ४० हजार कार्टुन थियो।
उत्पादन घटेपछि संघले अण्डाको नयाँ समर्थन मूल्य तोकेको छ। चितवनमा ठूलो अण्डाको फार्म मूल्य प्रतिक्रेट ४८० रुपैयाँ र मझौला अण्डाको मूल्य ४५० रुपैयाँ निर्धारण गरिएको छ। दुबैमा ३० रुपैयाँ ले वृद्धि गरिएको हो। होलसेल मूल्यअनुसार सात क्रेटको दरले ठूलो अण्डा रु ३ हजार ५४० र मझौला रु ३ हजार ३३० मा बिक्री भइरहेको छ।
पोखरेलका अनुसार, केही महिनाअघि अण्डाको मूल्य घटेर प्रतिक्रेट ३५० रुपैयाँ सम्म झरेपछि धेरै किसानले घाटा व्यहोरेका थिए। घाटाका कारण माउ कुखुरा बिक्री गरिनु, नयाँ चल्ला राख्न नसकिनु र धेरै किसान विस्थापित हुनु पनि उत्पादन घट्नको प्रमुख कारण हुन्।
नेपालमा अण्डाको औसत लागत मूल्य प्रति गोटा १६.५६ रुपैयाँ पर्ने गरेको बताइएको छ।

