


पाल्पा,१२असार। पाल्पाको रामपुर नगरपालिका–६, तिलकपुरका १० वर्षे पवन कुमाल मानसिक र शारीरिक अशक्त भएका कारण विगत एक वर्षदेखि फलामको खोरभित्र दिन बिताउँदै आएका छन्। परिवारले सुरक्षाको कारणले बिहानदेखि साँझसम्म उनलाई खोरमा राख्न बाध्यता भएको बताएको छ।
पवनका आमा पूर्णमायाले भन्छिन्, “पवन जन्मदेखि नै अशक्त छन्। घरमै राख्ने प्रयास गर्दा घुम्न नपाएर सडकमा निस्किएपछि दुर्घटनाको डरले फलामको खोर बनाउनु परेको हो।”

उनका जुम्ल्याहा भाइ पविन नवदुर्गा माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्दैछन्। आमाले भाइलाई विद्यालय पठाउँदा पवनलाई खोरभित्र राखेर काम गर्न जानुपर्छ।
परिवारले पवनको उपचारमा अहिलेसम्म ९ लाखभन्दा बढी खर्च गरिसकेको छ। एक वर्षको उमेरमा बनेपास्थित अपांगता अस्पतालमा खुट्टाको उपचार गराएका थिए भने पछि मुटुको शल्यक्रिया गङ्गालाल अस्पतालमा गरिएको थियो। अझै मस्तिष्कको शल्यक्रिया आवश्यक छ, जसका लागि ७ लाख रुपैयाँ आवश्यक छ। जुन परिवारसँग छैन।
पवनका बुबा कृष्णबहादुर कुमाल खाडी मुलुकमा वैदेशिक रोजगारीमा छन् र परिवारको भरणपोषण गर्दै आएका छन्।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले पवनको उपचारमा पालिकाले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

