


काठमाडौं,२९असार। भारतको तेलुगुका वरिष्ठ अभिनेता कोटा श्रीनिवास रावको निधन भएको छ। लामो समयदेखि विरामीपरेपछि उनको ८३ वर्षको उमेरमा निधन भएको हो।
चार दशकभन्दा बढीको करियरमा ७५० भन्दा बढी फिल्महरु बनाएका राव उद्योगका सम्मानित अभिनेताहरुमध्ये एक थिए। श्रीनिवास रावले विभिन्न भाषाका चलचित्रमा काम गरेका छन्।

तेलंगानाका मुख्यमन्त्री ए रेवन्त रेड्डी, आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडू, अभिनेताबाट राजनीतिज्ञ बनेका तथा आन्ध्र प्रदेशका उपमुख्यमन्त्री पवन कल्याण र अन्य नेताहरुले श्रीनिवास रावको निधनमा शोक व्यक्त गरेका छन्।
पद्मश्री पुरस्कार विजेता श्रीनिवास राव विजयवाडा पूर्वी विधानसभा क्षेत्रबाट विधायक समेत भएका थिए।
सन्, १९४२ जुलाई १० मा आन्ध्र प्रदेशको कान्कीपाडु गाउँमा जन्मिएका राव सुरुमा डाक्टर बन्न चाहन्थे । तर, कलेज नाटकहरुमा भाग लिएपछि अभिनयतर्फ आकर्षित भए। उद्योगमा प्रवेश गर्नुअघि उनी स्टेट बैंकका कर्मचारी थिए।

