
काठमाडौं,२९असार। नेपाललाई ७ करोड रुपैयाँ बराबरको क्यान्सर उपचारसम्बन्धी अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री प्राप्त भएको छ। अमेरिकास्थित ‘डाइरेक्ट रिलिफ’ नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोग र ‘वान हार्ट वल्र्डवाइड’ को समन्वयमा यी सामग्री नेपाल ल्याइएका हुन्।
असार २७ गते शुक्रबार नेपाल आइपुगेका यी औषधि तथा स्वास्थ्य सामग्रीहरु आइतबार बिहान स्वास्थ्य मन्त्रालयमा हस्तान्तरण गरिएको छ। डाइरेक्ट रिलिफ ले स्तन, छाला तथा विभिन्न प्रकारका क्यान्सर उपचारमा प्रयोग हुने ३७ प्रकारका दुर्लभ र महँगा औषधिहरु आगामी ५ वर्षसम्म नेपाललाई आवश्यकताअनुसार उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले भण्डारण गरेका यी सामग्रीहरु औपचारिक हस्तान्तरण लगत्तै चारवटा प्रमुख क्यान्सर अस्पतालहरु बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर), भक्तपुर क्यान्सर अस्पताल (भक्तपुर), सुशील कोइराला प्रखर क्यान्सर अस्पताल (बाँके), र वीर अस्पताल (काठमाडौं) लाई उपलब्ध गराएको छ ।
यी औषधि तथा स्वास्थ्य सामग्रीहरु, जसमा स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर जस्ता समस्यामा प्रयोग हुने औषधि पनि समावेश छन्। ती अस्पतालहरुमा क्यान्सरका बिरामीहरुलाई निःशुल्क उपलब्ध गराइनेछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सर उपचार महँगो भएकाले यी औषधिले बिरामीहरलाई ठूलो राहत मिल्ने बताए। मन्त्रालयले भविष्यमा पनि यस्ता सामग्रीहरु निरन्तर उपलब्ध गराउन पहल गरिरहेको उनले जानकारी दिए।
आवश्यक औषधिको सूची तयार गरी सम्बन्धित संस्थालाई पठाइएको र त्यसैका आधारमा ५ वर्षका लागि औषधि दिने प्रतिबद्धता प्राप्त भएको पनि मन्त्री पौडेलले उल्लेख गरे।

