


काठमाडौं,३०असार। रोजगारीका सिलसिलामा दुबई पुगेर अलपत्र परेका पाँच जना नेपाली युवालाई सरोकार केन्द्र नेपाल र मिस्टर गुरुङ एन्ड रेस्क्यु टिम, दुबईको समन्वयमा उद्दार गरी सोमबार नेपाल फर्काइएको छ।
उद्दार गरिएका युवाहरुमा शिवम थापा मगर, दिपेन्द्र कार्की, विशाल कोली, छकबहादुर थापा र सोमबहादुर थापा रहेका छन्। उनीहरुमध्ये चार जना तीन महिनाअघि सान एबी इन्टरनेशनल र एक जना लिंक इन्टरनेशनल नामक म्यानपावर कम्पनीमार्फत मार्फत एक महिनाअघि दुबई पुगेका थिए।

जनही १ लाख ८० हजार रुपैयाँ तिरेर लेबर भिसामा दुबई पुगेका उनीहरुले सम्झौता अनुसारको तलब तथा सेवा सुविधा नपाएको विषयमा गुनासो गरेपछि कुटपिट गरी कामबाट निकालिएको पीडितहरुले बताएका छन्। कामविहीन भएपछि उनीहरु सडकमा अलपत्र परेका थिए।
अलपत्र परेका युवाहरुले मिस्टर गुरुङ एन्ड रेस्क्यु टिमसँग सम्पर्क गरेपछि उनीहरुलाई ३३ दिनसम्म सेफ हाउसमा राखेर सरोकार केन्द्र नेपालको पहलमा नेपाल फर्काइएको हो।
सरोकार केन्द्र नेपाल र मिस्टर गुरुङ एन्ड रेस्क्यु टिम, दुबईले पछिल्ला दिनहरुमा विदेशमा अलपत्र परेका नेपालीहरूलाई सहयोग गर्दै आइरहेका छन्। यी संस्थाहरुले पछिल्लो दुई हप्तामा १० जना नेपालीको उद्दार गर्न सफल भएको बताइएको छ।

