


काठमाडौं,३१असार। सरकारले असार महिनामा मात्रै २ खर्ब २७ अर्बभन्दा बढी बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार असार १ देखि ३० गतेसम्मको अवधिमा उक्त रकम खर्च भएको हो। विज्ञहरुले असारमा गरिने अत्यधिक खर्चमाथि प्रश्न उठाउँदै आएका छन्।
असारमा, चालु शीर्षक (तलब, भत्ता, गोष्ठी) मा १ खर्ब २५ अर्ब, पुँजीगत शीर्षक (विकास निर्माण) मा ७० अर्ब ४६ करोड र सार्वजनिक ऋणको भुक्तानीमा ३२ अर्बभन्दा बढी खर्च भएको छ। यो आर्थिक वर्षको अन्त्यसम्ममा कुल बजेटको करिब ८२ प्रतिशत अर्थात् १५ खर्ब १५ अर्ब रुपैयाँ खर्च भएको छ। तत्कालीन अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्बको बजेट ल्याएका थिए।

यस्तै, चालु शीर्षकमा ११ खर्ब ४० अर्बको बजेट ल्याइएकोमा ९ खर्ब ८० अर्ब खर्च भएको छ भने विकास बजेट ३ खर्ब ५२ अर्बकोमा २ खर्ब १४ अर्ब खर्च भएको छ।
नयाँ बजेट कार्यान्वयनमा
चालु आर्थिक वर्ष बुधबार सकिएसँगै बिहीबार (साउन १ गते) बाट नयाँ आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनमा आउँदैछ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ १५ मा प्रस्तुत गरेको १९ खर्ब ६४ अर्बको बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले मार्गदर्शन तयार गरिसकेको छ।
नयाँ बजेटमा चालु शीर्षकमा ११ खर्ब ८० अर्ब, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ खर्च गर्ने योजना छ। सरकारले राजश्व, वैदेशिक अनुदान, वैदेशिक ऋण र आन्तरिक ऋणबाट स्रोत जुटाउने लक्ष्य राखेको छ।
सरकारले साउन १ गतेबाट बजेट कार्यान्वयनमा ल्याएर आर्थिक गतिविधि विस्तार, निजी क्षेत्रको लगानी वृद्धि, रोजगारी सिर्जना र पूर्वाधार विकास लगायतका माध्यमबाट ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ।

