


काठमाडौं,४साउन । साउदी अरेबियाका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल सउदको ३६ वर्षको उमेरमा निधन भएको छ। उनी २० वर्षदेखि कोमामा थिए।
सन् २००५ मा १५ वर्षको हुँदा लन्डनमा सैन्य क्याडेटको रुपमा अध्ययनका क्रममा भएको कार दुर्घटनामा गम्भीर घाइते भएपछि उनको मस्तिष्कमा गहिरो चोट लागेको थियो। त्यसपछि उनी कहिल्यै पूर्ण रुपमा होसमा आउन सकेनन्।

राजकुमारलाई अमेरिकी र स्पेनी चिकित्सकहरुको विशेष निगरानीमा राखिएको थियो। उनको शरीरमा बेलाबेला देखिने स–साना अनियन्त्रित गतिविधिले परिवारमा आशा जगाउने गर्थ्यो। शरीरका केही अंगहरु चलेकोजस्तो देखिने भिडिओहरु पनि सार्वजनिक भएको गल्फ न्युजले जनाएको छ।
सामाजिक सञ्जालमा धेरैले राजकुमार वालिदप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। दुर्घटनापछि लामो समयदेखि होसमा नआएका कारण उनलाई ‘स्लिपिङ प्रिन्स’ उपनाम दिइएको थियो।

