
नवलपुर, २० साउन। पटक पटक म्याद थप्दै निर्माण भइरहेको बुटवल–नारायणघाट सडकखण्डको फेरी अन्तिम पटक भन्दै चौथो पटक म्याद थप गरिएको छ। उक्त सडकखण्ड समयमै निर्माण नहुँदा नागरिकहरुले वर्षौ देखि सास्ती खेप्नु परेको छ। पश्चिम नेपालको लाइफलाइनको रुपमा रहेको यो सडकखण्डको निर्माण कार्य अन्तिम पटक थपिएको म्यादमा सकिने बताइएको छ।
चौथो पटक थपिएको एक वर्षको म्यादभित्र काम सम्पन्न गर्नुपर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको सडक विभाग अन्तर्गत एसियाली विकास बैंक (एडीबी) का आयोजना निर्देशक चूडाराज ढकालले बताए। उनका अनुसार पश्चिमखण्डमा २०८३ साउन ५ र पूर्वीखण्डमा साउन ७ सम्म म्याद थप भएको छ।
Advertisement

Advertisement
Advertisement

बुटवल–नारायणघाटको दुरी १ सय १३ किलोमिटर छ । बुटवलदेखि दाउन्नेसम्मको ४८ किमिलाई पश्चिम खण्ड र दाउन्ने-नारायणघाटको ६५ किमि दूरीलाई पूर्वी खण्डका रुपमा विभाजन गरेर निर्माणकार्य भइरहेको छ। यो सडकखण्डको तेस्रो पटकको म्याद ०८२ साउन ६ गते समाप्त भएको थियो।
उनले सडकखण्डको पूर्वी र पश्चिमखण्ड दुवै गरी हालसम्म ७० प्रतिशत भौतिक प्रगति भएको बताए। सडकखण्डको निर्माण ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएसीसईसी–चाइना) ले पाएको छ। दाउन्ने खण्डमा कालोपत्रे सडक नटिक्ने समस्या देखिएकोले ढलान गर्ने विषयमा छलफल भइरहेको उनले बताए।
दाउन्ने क्षेत्रमा धेरै कल्भर्ट बनाउनुपर्ने भएकाले कामले गति लिन नसकेको आयोजना कार्यालयको भनाई छ। ।
नारायणघाट–बुटवल सडक योजना (पूर्वी खण्ड) कार्यालयका इन्जिनियर शिव खनालका अनुसार उक्त सडकखण्डको १४ किलोमिटर दाउन्ने क्षेत्रमा १ सय ३ वटा विभिन्न ठाउँमा कल्भर्ट बनाउनु पर्ने भएकोले सो क्षेत्रमा समस्या हुने गरेको छ।
दाउन्नेको पनि बढी समस्या पूर्वी खण्डमै देखिएको उनले बताए । दाउन्नेदेखि नारायणगढसम्म पर्ने पूर्वीखण्डको कुल दूरी ६५ किलोमिटरमध्ये दाउन्ने खण्ड मात्र चार किलोमिटर छ। चार किलोमिटर क्षेत्रमा ३३ वटा कल्भर्ट निर्माण गर्नुपर्ने उनको भनाइ छ । ६ वटा बने पनि अन्य निर्माणाधिन अवस्थामा छन् । कल्भर्ट बन्दै गर्ने र खोलाले बगाउँदै गर्दा निर्माणमा ढिलासुस्ती भएको आयोजना कार्यालयले बताएको छ।

