


भैरहवा, २० साउन। संघीय लोकतान्त्रिक मोर्चाले बुधबार (भोली) रुपन्देहीमा ‘जनजागरण अभियान’ आयोजना गर्ने भएको छ।
मोर्चाले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा नागरिक उन्मुक्ति पार्टी रुपन्देहीका अध्यक्ष तुल्सी प्रसाद चौधरीले बुधबार सियारी गाउँपालिका कार्यालयको सभाहलमा कार्यक्रम हुने जनाए।

उनका अनुसार कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, अध्यक्ष लालवीर चौधरी, महासचिव गंगा चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री अरुण चौधरी, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ सह–अध्यक्ष सर्वेन्द्रनाथ शुक्ल, जनता समाजवादी पार्टी (जसपा), नेपालका महासचिव रामकुमार शर्मा, लगायतका शिर्ष नेताहरुले सम्बोधन गर्नेछन्।
लोसपा रुपन्देहीका अध्यक्ष रवि कुमार रौनियारले संविधान संशोधनका लागि सरकारलाई दबाब दिने र वर्तमान राजनीतिक अवस्थाबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम गर्न लागिएको बताए।।
मोर्चामा जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी, राष्ट्रिय मुक्ति पार्टी, नेपाल र तराई–मधेश लोकतान्त्रिक पार्टी सम्मिलित छन् । मोर्चाले विभिन्न जिल्लामा विभिन्न दललाई कार्यक्रम संयोजनको जिम्मेवारी दिएको छ। जसअनुसार रुपन्देहीमा नागरिक उन्मुक्ति पार्टीले जिम्मेवारी पाएको छ।
रुपन्देही-३ मा हुने उपनिर्वाचनलाई लक्षित गर्दै समेत कार्यक्रम आयोजना गरिएको छ। उपनिर्वाचनका लागि मोर्चाको तर्फबाट नागरिक उन्मुक्ति पार्टीको उम्मेदवार हुने लगभग तय छ। जसका लागि जिल्लाबाट धनीराम चौधरी, डा.सरोजसिंह चौधरी, नन्दा चौधरीको नाम उम्मेदवारका लागि सिफारिस गरिएको पार्टीका रुपन्देही अध्यक्ष तुल्सी प्रसाद चौधरीले बताए। उनका अनुसार एक जना सम्भावित उम्मेदवार नाम गोप्य राखिएको छ।
कार्यक्रमको संचालन नागरिक उन्मुक्ति पार्टीका आशिन गुरुङले गरेका थिए।

