


काठमाडौं,२२ साउन। भारतको उत्तर प्रदेशस्थित कन्नौजमा एउटा डरलाग्दो घटना भएको छ। जहाँ एक श्रीमानले आफ्नो श्रीमती सँगै घर जान नमानेपछि उनको नाक टोकेर चुँडाइदिएका छन्।
पीडित गुड्डी देवीको १४ वर्षअघि पप्पुसँग विवाह भएको थियो। पप्पु लागूपदार्थको लतमा फसेका कारण उनीहरुबीच बारम्बार झगडा हुने गर्दथ्यो। पतिको व्यवहारबाट दिक्क भएर गुड्डी तीन वर्षअघि आफ्नो मामाघरमा बस्न थालेकी थिइन् र ज्यालामजदुरी गरेर जीवन चलाउँदै आएकी थिइन्।

गत बुधबार साँझ कामबाट फर्किँदै गर्दा पप्पुले गुड्डीलाई बाटोमा रोकेर आफूसँग घर जान दबाब दिए। गुड्डीले अस्वीकार गरेपछि रिसाएका पप्पुले उनलाई नजिकैको झाडीमा घिसारेर लगे। त्यहाँ उनले गुड्डीको घाँटी थिचेर कुटपिट गरे र अन्तमा उनको नाक टोकेर चुँडाइदिए।
आक्रमणपछि पप्पुले काटिएको नाक पनि आफूसँगै लिएर भागे। गम्भीर घाइते गुड्डीलाई जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि कानपुर रेफर गरिएको छ।
घटनापछि गुड्डीले प्रहरीमा उजुरी दिएकी छिन् र प्रहरीले पप्पुविरुद्ध मुद्दा दर्ता गरी खोजी गरिरहेको छ। प्रहरीका अनुसार तीन वर्षअघि पनि पप्पुले गुड्डीमाथि छुरा प्रहार गरेका थिए। त्यतिबेला उनी जेल परे पनि जमानतमा छुटेका थिए। भारतीय संचारमाध्यमको सहयोगमा

