


काठमाडौं,२५ साउन। प्रहरीले बैंकमा रहेको रकम अपचलन गरेको आरोपमा दार्चुलाको शैल्यशिखर नगरपालिका-९ स्थित महालक्ष्मी विकास बैंकका चार जना कर्मचारीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बैंकका शाखा प्रबन्धक सागर शाही, निर्मला साउद, धनन्जय पन्त र अम्बादत्त पन्त रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार बैंकले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो। कर्मचारीहरुको मिलेमतोमा बैंकमा रहेको दुई करोड ८४ लाख ७६ हजार सात सय रुपैयाँ अपचलन गरिएको आरोप छ।
महालक्ष्मी विकास बैंकको केन्द्रीय कार्यालयको टोली गरेको प्रारम्भिक अनुसन्धानबाट बैंकका कर्मचारीले नेपालमा प्रतिबन्धित अनलाइन जुवा प्लेटफर्म वान एक्स बेटमा बैंकको पैसा लगाएको पाएको थियो।
पक्राउ परेका कर्मचारीहरुविरुद्ध मुद्दा दायर गरी अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

