


भैरहवा,६ भदौ। यसोदा फुड्स प्रालिले भैरहवास्थित नयाँ सडकमा ‘करेन्ट मार्ट’ संचालनमा ल्याएको छ । उद्योगका उत्पादित ६० बढी परिकारहरु सर्वसाधरणलाई एउटै छानामुनी उपलब्ध गराउनका लागि प्रालिले ‘करेन्ट मार्ट’ संचालनमा ल्याएको हो।
यसोदा फुड्सद्धारा उत्पादित परिकारहरु एउटै छानामुनी उपलब्ध हुने भैरहवामा यो तेस्रो मार्ट हो। यस अघि कम्पनीले बुटवल र काठमाडौंमा सबै परिकार एउटै छानामुनी उपलब्ध गराउँदै आएको छ।

शुक्रवारदेखि संचालनमा ल्याइएको ‘करेन्ट मार्ट’ मा सर्वसाधरणहरुले उद्योगद्धारा उत्पादित करेन्ट ब्राण्ड अन्र्तगतका विभिन्न परिकारका तयारी चाउचाउ,मसाला, चिप्स लगायत सामग्री खरिद गर्न सक्ने यसोदा फुड्स प्रालिका निर्देशक ऋषि भण्डारीले बताए।
‘हामीले ‘करेन्ट मार्ट’ मा उद्योगद्धारा उत्पादित भान्सामा लाग्ने सबै ब्राण्डका परिकार राखेका छौँ’, उनले भने, ‘यहाँ सर्वसाधरणले इच्छा अनुसार कम्पनीको सामग्री खरिद गर्न सक्नेछन् ।’ भविष्यमा उद्योगद्धारा उत्पादित परिकारहरुको विभिन्न स्वाद समेत मार्टमै चखाउने समेत कम्पनीको योजना छ।
करेन्ट मार्टको उद्घाटन गर्दै सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले भैरहवाका करेन्ट पारखीहरुका लागि मार्टले सहजै विविध परिकार उपलब्ध गराउने उल्लेख गरे।

उनले निजी क्षेत्रको लगानी र निरन्तरताले नै मुलुकको आर्थिक गतिविधि चलायमान बनेको बताउँदै रोजगार सिर्जना र अर्थतन्त्रमा यसको ठूलो भूमिका रहने बताए।
हालसम्म करेन्टका उत्पादनहरु विश्वका २८ बढी मुलुकमा औपचारिक रुपमै निर्यात हुने गरेको र नेपाली रहेका अन्य देशहरुमा पनि उपहारको रुपमा लैजाने गरिएको कम्पनीका निर्देशक श्रवण बेरिवालले बताए।

कम्पनीका सञ्चालक मधुसुदन घिमिरेले करेन्टका पारखीहरुलाई लक्षित गरी यस्ता मार्टहरु विभिन्न सहरहरुमा सञ्चालन गर्न लागिएको बताए। कम्पनीले तयारी चाउचाउ, चिज बल्स, स्टिक्स, पोट्याटो क्र्याकर्स तथा विभिन्न प्रकारका खाजाहरु (स्न्याक्स) पनि उत्पादन गर्दै आएको छ।

