


काठमाडौं,२० भदौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका नापी कार्यालय कलंकीमा कार्यरत कार्यालय सहयोगी एकेन्द्र बहादुर कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
काठमाडौं चन्द्रागिरी नगरपालिका–१३ (साविक पुरानो नैकाप) को जग्गा हालसाविक गरी जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउन सहजीकरण गरिदिने भन्दै १३ हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका उनीविरुद्ध शुक्रवार विशेष अदालतमा आरोपपत्र दायर भएको हो।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसन्धानपछि उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसूर देखिएको भन्दै अख्तियारले बिगो १३ हजार कायम गरी कैद सजाय र सोही रकम बराबरको जरिवानाको मागसहित आरोपपत्र दायर गरेको हो।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसार अख्तियारले सजाय माग दावी गरेको छ ।

