
दाङ,२२ भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजामती सेवालाई प्रविधिमैत्री, जनउत्तरदायी र समयसापेक्ष बनाउन लुम्बिनी प्रदेश सरकार निरन्तर प्रयासरत रहेको बताएका छन् ।
प्रदेश निजामती सेवा दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले निजामती सेवाको गौरवलाई अझ उचाइमा पुर्याउनुपर्नेमा जोड दिए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

वि.सं. २०१३ भदौ २२ गते जारी भएको निजामती सेवा ऐन आज ६९ वर्ष पुगेको प्रसंग स्मरण गर्दै मुख्यमन्त्री आचार्यले यस अवधिमा राजनीतिक आन्दोलन, शासन प्रणालीका परिवर्तन र संरचनागत चुनौतीबीच पनि निजामती सेवा राज्यको मेरुदण्ड र जनसेवाको आधारस्तम्भ बनेको उल्लेख गरे ।
संघीयता कार्यान्वयनसँगै संघ, प्रदेश र स्थानीय तहमा निजामती सेवाको भूमिका अझ व्यापक भएको बताउँदै उनले प्रत्यक्ष रूपमा सेवा प्रवाहमा समर्पित सम्पूर्ण निजामती कर्मचारीप्रति सम्मान प्रकट गरे।
लुम्बिनी प्रदेश सरकारले कर्मचारी व्यवस्थापन र वृत्ति विकासलाई स्पष्ट र व्यवस्थित बनाउँदै सेवाप्रवाहलाई चुस्त, पारदर्शी र जवाफदेही बनाउन निरन्तर पहल गरिरहेको मुख्यमन्त्री आचार्यले बताए ।
शुभकामना सन्देशमा उनले सम्पूर्ण निजामती कर्मचारीलाई ज्ञान, सीप र इमानदारीसहित सकारात्मक सोचका साथ जनसेवामा समर्पित हुन आह्वान गरेका छन्। लुम्बिनी प्रदेशमा निजामती सेवा दिवसको सन्दर्भमा विभिन्न कार्यक्रमहरु गरिएका छन् ।

