


काठमाडौं,२३ भदौ । देशमा बढ्दै भएको बेथिती, भ्रष्टाचार र सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा जेन-जी पुस्ताले काठमाडौंसहित देशका विभिन्न सहरमा प्रर्दशन गरेको छ ।
सोमबार बिहानदेखि काठमाडौंको माइतीघर, विर्तामोड, पोखरा, बुटवल र दाङमा प्रदर्शन गरेका छन्। सन् १९९७ देखि २०१२ भित्र जन्मिएका पुस्तालाई जेनजी पुस्ता भनिन्छ।

उनीहरुले प्रदर्शनका क्रममा विभिन्न राष्ट्रप्रेमी गीत गाएका छन्। गाउँगाउँबाट उठ,बस्ती बस्तीबाट उठ,यो देशको मुहार फेर्नलाई,यो नेपाली शीर उचाली संसारमा लम्किन्छ जुनकिरी झैं ज्योति बाली अन्धकारमा चम्किन्छलगायत गीत गाउँदै प्रदर्शनमा उत्रिएका छन्।
उनीहरुले नयाँ युवाले के भन्छ, खुलेर बोल्न दे भन्छ, जय देश जय राष्ट्रियता,आवर फ्युचर इज नट फर सेललगायत विभिन्न नारा लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका छन्।
उनीहरुले एक विज्ञप्ति जारी गर्दै आफ्नो आन्दोलन शान्तिपूर्ण हुने बताएका छन्। भ्रष्टहरूलाई जवाफदेही बनाउन, सरकारमा पारदर्शिता सुनिश्चित गर्न र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने आफूहरुको प्रदर्शनको उद्देश्य रहेको विज्ञप्तीमा उल्लेख गरेको छ। काठमाडौं जिल्ला प्रशासनका अनुसार ‘हामी नेपाल’ नामक संस्थाले प्रदर्शनका लागि अनुमति लिएको छ।
संस्थाका अध्यक्ष सुदन गुरुङका अनुसार पछिल्लो समय सरकारले चालेको कदम र भ्रष्टाचारविरुद्ध यो प्रदर्शन गरिएको हो। उनका अनुसार काठमाडौंसँगै देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ।

