


कपिलवस्तु,१८ असोज। कपिलवस्तुको शिवराज नगरपालिका-१ वनकसवासामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
धनगढीबाट काठमाडौं जाँदै गरेको ना८ख ५७०३ नम्बरको बस शनिवार बिहान दुर्घटना भएको जिल्ला टफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहका अनुसार बसमा सवार एक जना महिलाको मृत्यु भएको र ३६ जना घाइते भएका छन्। मृतकको पहिचान खुलेको छैन ।
घाइतेहरु मध्ये ४ जनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ। गम्भीर घाइते र मध्यम घाइते रहेका १५ जनालाई चन्द्रौटास्थित स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटना स्थल राजमार्ग सामान्य मोड रहेको छ। बिहानको समय भएका कारण चालक निदाएर दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।

