


काठमाडौं,२२ असोज। नेकपा एमालेका नेता महेश बस्नेतले संसद् पुनर्स्थापनाका लागि अदालत जाने बताएका छन्।
बुधवार पत्रकार सम्मेलन गर्दै उनले आतंककारीका मतियारहरुविरुद्ध देशभर उजुरी हाल्ने र देशभर डिजिटल जेनरेसन फोर्स निर्माण गरिने बताए ।

‘त्यो भन्दा अगाडि संसद् पुनर्स्थापनाका लागि सर्वोच्च अदालतको ढोका ढकढक्याउँछौ’, उनले भने– ‘त्यसमा पार्टी आधिकारिक ढङ्गले जाने वा वकिलमार्फत जाने भनेर हामी अन्तिम छलफल गर्दैछौं ।’
नेकपा एमालेका पोलिटव्युरो सदस्य समेत रहेका बस्नेतले सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्दा हालका अर्थमन्त्री रामेश्वर खनालबाट सुरु गर्ने कि नगर्ने भनेर प्रश्न गरेका छन्।
उनले प्रश्न गर्दै भने, ‘सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारको कुरा गर्दा रामेश्वर खनालबाट सुरु गर्ने कि नगर्ने ?
उनले सरकारका अर्का मन्त्री कुलमान घिसिङमाथि पनि दर्जनौं उजुरी रहेको भन्दै उनीमाथि पनि छानबिन गर्नुपर्ने धारणा राखे। ‘कुलमानजीको अख्तियारमा दर्जनौं मुद्दा छ, सम्पत्ति शुद्धीकरणमा दर्जनौं मुद्दा छ । संसदीय समितिमा दर्जनौं मुद्दा छ, अब छानबिन त्यहाँबाट सुरु गर्ने कि नगर्ने ? उनले भने ।’
साथै, उनले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन चुनौती समेत दिएका छन्।
राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष महाराज गुरुङले काठमाडौं महानगरका मेयर बालेन साहविरुद्ध नेपो बेबी ट्रेन्ड चलाउनुपर्ने बताएका छन् । उनले बालेनका बुवाको र हामी नेपाल संस्थाको सम्पत्तिमाथि छानबिन हुनुपर्ने बताए ।

