


काठमाडौं,१ असोज। सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को साउन र भदौ दुई महिनामा करिब दुई खर्ब रुपैयाँ बजेट खर्च गरेको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार, भदौ मसान्तसम्म सरकारको कुल खर्च एक खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख पुगेको छ। जुन वार्षिक लक्ष्यको ९ दशमलव ४१ प्रतिशत हो।

कुल खर्चमध्ये चालु शीर्षकमा एक खर्ब २२ अर्ब तीन करोड ५४ लाख, पुँजीगततर्फ सात अर्ब ६६ करोड ४८ लाख र वित्तीय व्यवस्थातर्फ रु ७० अर्ब १३ करोड ७० लाख रुपैयाँ खर्च भएको छ। यी शीर्षकमा क्रमशः वार्षिक लक्ष्यको ९ दशमलव ६ प्रतिशत, १ दशमलव ७८ प्रतिशत र १६ दशमलव ५९ प्रतिशत बजेट खर्च भएको कार्यालयले जनाएको छ।
यस अवधिमा सरकारको आम्दानी भने खर्चभन्दा कम रहेको छ। भदौ मसान्तसम्म कुल राजश्व संकलन एक खर्ब ९० अर्ब १० करोड ७९ लाख भएको छ। जुन वार्षिक लक्ष्यको ११ दशमलव ५८ प्रतिशत हो। यसरी पछिल्ला दुई महिनामा सरकारको खर्च आम्दानीभन्दा करिब नौ अर्ब ७३ करोड देखिएको छ।
कर राजश्वबाट एक खर्ब ७२ अर्ब ४२ करोड ९७ लाख र गैरकर राजश्वबाट १० अर्ब ७७ करोड ६९ लाख संकलन भएको छ। त्यस्तै, चालु आर्थिक वर्षमा ६१ अर्ब ७४ करोड ५४ लाख प्रत्यक्ष वैदेशिक अनुदान लिने लक्ष्य राखिएकोमा भदौ मसान्तसम्म पाँच अर्ब ५३ करोड बराबर भित्रिएको कार्यालयले जनाएको छ।

