


काठमाडौं,२४ असोज। निवर्तमान गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सरकारले गोली हान्ने नदिएको बताएका छन्।
शुक्रवार नेपाली कांग्रेसको पार्टी कार्यालयमा संचारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने,‘प्रधानमन्त्रीजीले वा गृहमन्त्रीले आदेश गरेको भनेर विभिन्न चर्चाहरु उठेका छन्। यो प्रधानमन्त्रीले गृहमन्त्रीले कुनै पनि रुपमा आदेश गर्ने विषय होइन । त्यस्ता खालका कुनै आदेश पनि गरिएको छैन ।’

उनले आन्दोलनमा घुसपैठ भएको विषय सत्य देखिएको समेत बताए ।
‘घुसपैठ भएको विषय मैले नै भनिरहेको विषय होइन। स्वयं प्रदर्शनका आयोजकहरुले नै भनिरहेको विषय थियो,’ उनले भने, ‘त्यो पछि यथार्थमा सत्य देखियो। जसका कारणले यत्रो ठूलो पीडादायी घटना भए।’
लेखकले अहिलेको समय उत्तेजना, आग्रह, पूवाग्रह र प्रतिशोधभन्दा माथि उठेर काम गर्नुपर्ने र जेनजी पुस्ताले उठाएको विषयलाई बुझेर अघि बढ्नुपर्ने बताए ।

