
भैरहवा, १२ कार्तिक । उद्योग व्यापार संगठन (चेम्बर अफ कमर्स) रुपन्देहीले सातौँ लुम्बिनी महोत्सव–२०८२ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धन) आयोजना गर्ने भएको छ ।
‘स्थानीय बजारमा खरिद गरौँ, स्थानीय बजार प्रवर्द्धन गरी, स्वदेशी वस्तुको प्रयोग गरी स्वाभिमानी नेपालीको पहिचान बनाऔँ’ भन्ने मूल नाराका साथ संगठनले महोत्सव आयोजना गर्न लागेको हो ।
Advertisement

Advertisement
Advertisement

संगठनले कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आगामी मङ्सिर ३ गतेदेखि मङ्सिर २१ गतेसम्म अंचलपुरमा महोत्सव आयोजना गरिएको जानकारी गराएको छ।
यसपटकको महोत्सवको मुख्य आकर्षण नेपालमै पहिलो पटक भियतनामबाट ल्याइएको ‘जलपरी’ को नि:शुल्क प्रदर्शन रहने संगठनका अध्यक्ष सचिन रोक्काले बताए ।
उनका अनुसार महोत्सवमा नि:शुल्क फिस टनेल, आइफेल टावरसहितको बाल उद्यान, विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहनेछ। उद्योग, व्यापार, कृषि र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको उनको भनाई छ।
‘उद्योग र व्यापारको प्रोत्साहन गरी परनिर्भर अर्थतन्त्रलाई कम गर्ने, लुम्बिनी क्षेत्रका पर्यटकीयस्थलको विकास गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन हुने लक्ष्य राखेका छौँ’,उनले भने, ‘यसले उत्पादक र उपभोक्ताबीच समन्वय गराई स्थानीय वस्तुको बजार व्यवस्थापनमा सहयोग गर्नेर कृषिलाई वैज्ञानिक तथा व्यवसायीकरण गर्न सहयोग पुर्याउने छ।’
उनले महोत्सवले रुपन्देही जिल्लाका कृषि उपज तथा हस्तकला सामग्रीको प्रदर्शनी र बजार विस्तार गर्न, लुम्बिनी, देवदह, तिलौराकोट, रामग्रामलगायतका पर्यटकीयस्थलको प्रचारप्रसार गर्नेर रोजगारीको सिर्जनासमेत हुने बताए ।
लुम्बिनी प्रेस क्लबका कार्यवाहक अध्यक्ष दीपक घिमिरेले यस क्षेत्रको प्रवद्र्धनका लागि संचारक्षेत्रले सधै सकरात्मक भुमिका खेलेको उल्लेख गर्दै महोत्सवको प्रवद्र्धनका लागि पनि संचार क्षेत्रबाट सहयोग रहने बताए ।
संगठनको वरिष्ठ उपाध्यक्ष राम मिलन यादवका अनुसार महोत्सवमा २५० वटा स्टल रहनेछन्। करिब ३ लाख ५० हजारले अवलोकन गर्न महोत्सव सञ्चालन गर्न करिब १ करोड ३२ लाख खर्च हुने अनुमान छ।
संगठनको महासचिव लक्ष्मी अधिकारीले संस्थामा दर्ता रही नविकरण भएका सम्पूर्ण साधारण सदस्य एवं आजीवन सदस्यहरुलाई महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था रहेको बताइन्।
शारीरिक अशक्त (अपांग) तथा ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकको लागि ५० रुपैयाँ र ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई नि:शुल्क र अन्य सर्वसाधरणका लागि १५० रुपैयाँ टिकट शुल्क तय गरिएको आयोजकले जनाएको छ।

