


काठमाडौं,१३ कार्तिक। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस रकमसहित पक्राउ परेका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
आयोगले बिहीवार दैलेख डुङ्गेश्वर गाउँपालिका गाउँकार्यपालिकामा कार्यरत वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

पालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्नपछि अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएको पुष्टि हुन आएपछि कार्कीविरुद्ध आरोप पत्र दायर भएको आयोगले जनाएको छ।
आयोग प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार वरिष्ठ लेखा अधिकृत कार्कीविरुद्ध सडक निर्माण सकिएपछि बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस वापत १ लाख रुपैयाँ माग गरेको उजुरी परेको थियो।
अनुसन्धानका सिलसिलामा वरिष्ठ लेखा अधिकृत कार्कीले डुङ्गेश्वर गाउँपालिका वडा नम्बर १,२ ,३,४ र ५ मा पर्ने जर्सीचोक देउली जडी हुँदै गाउँपालिका सडक स्तरोन्नती योजनाको अन्तिम बिल भुक्तानी गर्ने क्रममा प्रक्रियाको सहजीकरण गरिदिने भनी बहाना बनाइ सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिएको पुष्टि हुन आएको आरोप पत्रमा उल्लेख छ।
केही समयअघि कार्कीलाई आयोगले सेवाग्राहीसँग १ लाख रकम घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

