


काठमाडौं,२१ कार्तिक। नेतृ रामकुमारी झाँक्रीले आफूलगायत ६ जना नेताहरुलाई कारबाही गरेर माधव नेपालले आफ्नै बेइज्जति गरेको टिप्पणी गरेकी छन्।
शुक्रबार सामाजिक सञ्जालमा उनले सामाजिक सञ्जालमा नेपाललाई सम्बोधन गर्दै झाँक्रीले नेताहरुमाथि कारबाही गरेर आफ्नै बेइज्जत हुने काम गरेको भन्दै कटाक्ष गरेकी छन्। ‘आफ्नै बेइज्जति हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?, अब केही अर्थ छ र ? कारबाहीको लोकले के भन्ला भन्ने पनि लागेन र ?’ उनले लेखेकी छन्।

उनले पार्टी विघटन भइसकेपछि कारबाहीको अर्थ नहुने जिकिर गरेकी छन्। १९ वर्ष पार्टीको नेतृत्वमा रहेको व्यक्तिबाट आफूले त्यस किसिमको अपेक्षा नगरेको पनि उनले बताएकी छिन्।
इतिहासलाई फेरि बल्झाएको भन्दै उनले यो घटना सबैले स्मृतिमा राख्ने जनाएकी छिन्। ‘जिन्दगीमा के लानु छ कमरेडरु समाज र देशको लागि जीवनरजवानी अर्पण गरेको ब्यक्तिले। लाने त यति त हो एउटा मिठो वा तितो स्मृति, चिया पशलमा पुग्दा बोल्ने दुई जना मान्छे। आफ्नै मलामी त कसले पो देख्छ ररु हार्दिक धन्यवाद यो अन्तिम कर्मको लागि’, उनले लेखेकी छिन्।
माओवादी केन्द्र लगायतका दलसँग एकता गरी नेपाली कम्युनिष्ट पार्टी गठन गर्दैगर्दा एमालेमै फर्किने तयारी गरेको भन्दै नेपालले झाँक्रीलगायत नेतालाई कारबाही गरेका थिए।
कार्त्तिक १९ गते पार्टी एकताका दिन सहसंयोजक नेपालले झाँक्रीसहित ६ जना नेताहरुलाई कारबाही गरेका थिए। नेपालले झाँक्री, घनश्याम भूषाल, दामोदर अर्याल, नन्दलाल बन्जाडे,धर्मराज निरौला र कृष्ण कुमार श्रेष्ठलाई कारवाही गरेका थिए। सोही दिन एकीकृत समाजवादीले माओवादी केन्द्रसहित दश वाम घटनसँग पार्टी एकता घोषणा गरेको हो।

