


भैरहवा, ३१ भदौ । नेपाल आयल निगमको पेट्रोलियम पदार्थ चोरी प्रकरणमा संग्लनहरुलाई कारवाही गरिएको छ।
मंगलबार निगमको अमलेखगन्ज डिपोबाट भलवारी डिपोको लागि तीन वटा ट्यांकरमा ल्याइएको डिजेल भैरहवास्थित सराफ आयल स्टोर्समा लकिङ प्रणाली बिगारेर चोरी गर्दै गरेको अवस्थामा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको टोलीले फेला परेको थियो।

निगमका अनुसार, तीन वटामध्ये पौडेल यातायात प्रालिको लु १ ख ६५०४ र बि.एन.एस.ढुवानी सेवाको लु २ ख १५४४ नम्बरको ट्यांकरबाट डिजेल चोरी गरिरहेको अवस्थामा रंगेहात फेला परेको थियो भने त्रिमुर्ति ट्रान्सपोर्ट प्रालिको लु १ ख ६६१९ नम्बर ट्यांकर सराफ आयल स्टोर्समा डिजेल निकालेर भागेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।
निगमको डिजेल चोरीमा संग्लन सराफ आयल स्टोर्स, ट्यांकर र ट्यांकरका चालक तथा सह–चालकहरुलाई कारवाही गरिएको निगमको प्रादेशिक कार्यालयले जनाएको छ।
निगमद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, सराफ आयल स्टोर्सलाई अनाधिकृत रुपमा पेट्रोलियम पदार्थ विक्री वितरण गरेकोमा एक लाख रुपैयाँ जरिवाना र ६ महिनासम्म आपूर्ति बन्द गर्ने कारवाही गरिएको छ । त्यस्तै संग्लन तीनवटै ट्यांकरलाई तीन महिनाका लागि निलम्बन कारवाही गरिएको छ।
यस्तै उक्त ट्यांकरहरुका चालक तथा सह–चालकहरुलाई निगमको कुनै पनि डिपो/कार्यालयमा आजिबन प्रवेश निषेध तथा निगमको करार सम्झौतामा संचालनमा रहेको ट्यांकर चलाउन नपाउने गरी कारवाही गरिएको नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालय भलवारीले जनाएको छ।
साथै, ट्यांकरहरुका चालक, सहचालक र पम्प संचालकविरुद्ध आवश्यक कारवाही प्रक्रिया बढाउन प्रहरी कार्यालयमा जाहेरी दिइएको बताइएको छ ।

