


काठमाडौं,२१ कार्तिक। प्रहरीले कर्तव्य ज्यानमुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्वतका रेशम बहादुर राना रहेका छन्। एनसिबि अबुधाबी युएईको समन्वयमा रानालाई युएईबाट पक्राउ गरी स्वदेश फिर्ता ल्याइएको प्रहरीले जनाएको छ।

राना समेत भएको मुद्दामा जिल्ला अदालत पर्वतको २०६९ माघ १५ गतेको फैसलाले जन्म कैद (२० वर्ष) सजाय ठहर भई वारदात पश्चात् फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि प्रहरीको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट ०८१ जेठ १९ गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो।
उनलाई सम्बन्धित कसुर बमोजिम कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

