
कपिलवस्तु, २६ कार्तिक । गोरुसिंगे–सन्धिखर्क सडकखण्डमा दैनिक ६ घण्टा सवारी आवागमन बन्द हुने भएको छ।
अर्घाखाँचीको शितगंगा नगरपालिका क्षेत्रअन्तर्गत ठाडादेखि घुम्तीसम्मको सडक भागमा मर्मत तथा स्तरोन्नतिको काम तीव्र गतिमा सञ्चालन गर्नका लागि सो व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ।

सर्वपक्षीय बैठकको निर्णयअनुसार कार्तिक २६ गतेदेखि मंसिर १० गतेसम्म दैनिक बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द रहनेछ। यो अवधिमा बीचबीचमा केही समयका लागि सडक खुला गरिने पनि प्रशासनले जनाएको छ।
पूर्वपश्चिम राजमार्गको गोरुसिंगेदेखि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कसम्मको सडक ६८ किलोमिटर लामो छ । जसको चौडाइ केही स्थानमा सात मिटर र केही स्थानमा पाँच मिटर मात्र रहेको छ।
शितगंगा नगरपालिका–९ (नरपानी–सितापुर–ठाडा) सडक खण्डमा पाभेर मेशिन प्रयोग गरी कालोपत्रे गर्ने काम भइरहेको छ। निर्माणको गुणस्तर सुनिश्चित गर्न र कामलाई तीव्रता दिनका लागि सडक बन्द गर्नु परेको जिल्ला प्रशासन कार्यालयले स्पष्ट गरेको छ।
प्रशासनले जारी गरेको सार्वजनिक सूचनामा उक्त सडक प्रयोग यात्रा गर्ने यात्रुले ध्यान दिन आग्रह गरिएको छ।


