


भैरहवा, २ मंसिर। लामो समय रोकिएको सडक उपभोग दस्तुर फेरी संकलन थालिएको छ। सडक बोर्ड नेपालले भैरहवा–भूमही सडकखण्ड अन्तर्गत रोहिणी पुल नजिकै सोमबारदेखि दस्तुर संकलन थालेको हो ।
यसपटक भने बोर्डले ठेक्का प्रणाली छाडेर आफ्नै कर्मचारीमार्फत संकलन गर्ने निर्णय लिएको छ। बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीका अनुसार सडक बोर्ड ऐन, २०५८ र “सडक उपभोग दस्तुर उठाउने कार्यविधि नियमावली, २०८१” का आधारमा नयाँ मोडल अनुसार टोल संकलन पुनः सुरुवात गरिएको हो।

उनका अनुसार भैरहवा भन्सार बिन्दु भएको र सडक अपेक्षाकृत छोटो भएकाले नयाँ प्रणाली परीक्षणका लागि उपयुक्त मानिएको हो। भन्सारबाट निस्कने ओभरलोड सवारीका कारण सडकमा हुने क्षति नियन्त्रण गर्न नियमित अनुगमनसमेत थालिने र क्षति भएका स्थानहरुको मर्मतमा संकलित रकम प्रयोग गरिनेछ।
बोर्डले केही दिनमै वीरगञ्ज–पथलैया, धरान–विराटनगर र नारायणगढ–मुग्लिङ सडकखण्डमा पनि टोल संकलन विस्तार गर्ने तयारी गरेको छ। साथै नागढुङ्गा क्षेत्रमा ‘आरएफआइडी’ प्रविधिमार्फत डिजिटल रिडिङ प्रणाली राखेर स्वचालित टोल संकलन सुरु गर्ने योजना रहेको उनले जानकारी दिए ।
टोल भुक्तानी प्रक्रिया आधुनिक बनाउन नगदसँगै क्युआर कोडमार्फत तिर्न मिल्ने व्यवस्था गरिएको छ। संकलित रकममध्ये कम्तीमा दुई तिहाइ रकम सोही सडकखण्डको मर्मत–सम्भारमा प्रयोग गरिने बोर्डको भनाइ छ।
भैरहवा–भूमही सडकमा बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभी मेसिनरीका लागि ३० रुपैयाँ, कार, जिप, पिकअप भ्यान र ट्र्याक्टरका लागि २० रुपैयाँ दस्तुर तोकिएको छ। तिनपाङ्ग्रे र मोटरसाइकलका लागि १० रुपैयाँ दस्तुर निर्धारण गरिएको भए पनि हाल भने यी दुई सवारी वर्गबाट दस्तुर सङ्कलन नगरिएको कार्यकारी निर्देशक केसीले बताए।

