
भैरहवा, २ मंसिर। रुपन्देहीको भैरहवामा आयोजना गरिएको ७ औं लुम्बिनी महोत्सव (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धन) २०८२ को तयारी लगभग सकिएको छ ।
उद्योग व्यापार संगठन (चेम्बर अफ कमर्स) रुपन्देहीले ‘स्थानीय बजारमा खरिद गरौँ, स्थानीय बजार प्रवर्द्धन गरी, स्वदेशी वस्तुको प्रयोग गरी स्वाभिमानी नेपालीको पहिचान बनाऔँ’ भन्ने मूल नाराका साथ
मंसिर ३ देखि मङ्सिर २१ गतेसम्म अंचलपुरमा आयोजना गर्न लागेको महोत्सवको तयारी लगभग सकिएको हो।

महोत्सवको उद्घाटन संविधानसभा सदस्य एवं सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खाँ र लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेयले उद्घाटन गर्ने आयोजकले जनाएका छन् ।
‘महोत्सव तयारी ९० प्रतिशत सकिएको छ । बाँकी १० प्रतिशत पनि आज रातिसम्म हामी सक्छौं’, संगठनका अध्यक्ष सचिन रोक्काले मंगलबार महोत्सव स्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भने, ‘भोली देखि महोत्सव संचालनमा आउनेछ।’

महोत्सवमा उद्योग, कृषि, पर्यटन, संघसंस्था, बैंक वित्तीय संस्था, व्यापार गरी कुल ३५० वटा स्टल रहेका छन् । यसपटकको महोत्सवको मुख्य आकर्षण नेपालमै पहिलो पटक भियतनामबाट ल्याइएको ‘जलपरी’ र फिसटनेल निःशुल्क प्रदर्शन रहनेछ । त्यस्तै महोत्सवमा मंसिर १४, १५ र १६ गते कुस्ती समेत हुने र तयारी भइरहेको अध्यक्ष रोक्काले बताए ।
त्यस्तै कलाकारहरुमा दुर्गेश थापा देखि लिएर प्रिति पासवानसम्मको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
‘उद्योग र व्यापारको प्रोत्साहन गरी परनिर्भर अर्थतन्त्रलाई कम गर्ने, लुम्बिनी क्षेत्रका पर्यटकीयस्थलको विकास गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन हुने लक्ष्य राखेका छौँ’,उनले भने, ‘यसले उत्पादक र उपभोक्ताबीच समन्वय गराई स्थानीय वस्तुको बजार व्यवस्थापनमा सहयोग गर्नेर कृषिलाई वैज्ञानिक तथा व्यवसायीकरण गर्न सहयोग पुर्याउने विश्वास लिएका छौं ।’
शारीरिक अशक्त (अपांग) तथा ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकको लागि ५० रुपैयाँ र ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क र अन्य सर्वसाधरणका लागि १५० रुपैयाँ टिकट शुल्क तय गरिएको छ।
‘विगतका वर्षहरु भन्दा हामीले यसपटक महोत्सवमा क्वालिटी दिने प्रयास गरेका छौं’,अध्यक्ष रोक्काले भने ‘महोत्सवमा आएपछि टिकट शुल्क मंहगो भएजस्तो लाग्ने छैन भन्ने विश्वास लिएका छौं ।’

