


सिमरा, ३ मंसिर। सिमरामा प्रहरी र युवाहरुबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कर्फ्यू आदेश जारी गरेको छ।
बाराको सिमरामा भएको झडपपछि स्थिति भड्किन नदिने प्रमुख जिल्ला अधिकारीले कर्फ्यू आदेश जारी गरेका हुन्।

गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ-बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म बुधबार दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ।
मधेश प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेता महेश बस्नेतसहितको टोली आउने भएपछि बाराको सिमरामा प्रहरी र युवाबीच झडप भएको हो ।
सिमरा विमानस्थलमा युवाहरुले विरोधको कार्यक्रम गरिराख्दा युवा संघका कार्यकर्तासँग भानाभान भएको थियो ।आक्रोशित युवा समूहले बाराको सिमरा विमानस्थलको गेट समेत तोडेका छन्।


