


काठमाडौं,८ मंसिर। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाको हस्ताक्षरमा पार्टी निर्वाचनमा नजाने दाबी गरेका छन्। अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुने भएकाले नयाँ सभापतिको हस्ताक्षर जाने बताएका हुन्।
उनले सामाजिक सञ्जालमार्फत नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्ने उद्घोष गरे। ‘बिहानदेखि धेरै साथीहरुले सोधिरहनुभएको छ, पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो ? मैले भने–होइन।’

उनले लेखेका छन्, ‘अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ। नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ। नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ।’
उनले यहि कारणले निर्वाचन अगाडि नै कांग्रेसको महाधिवेशन भनेको उल्लेख गरे। उनले अलमल नपर्ने आग्रह गर्दै अब विशेष महाधिवेशनको विकल्प नभएको बताए।
शनिबार बसेको कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्वाचनका लागि पार्टी दर्ता गर्ने निर्णय अनुसार आइतबार निर्वाचन आयोग पुगेर दल दर्ता गरिएको छ। आयोगमा सभापति देउवाको हस्ताक्षर रहने उल्लेख छ।
आगामी माघ ११ गते राष्ट्रिय सभा र फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ। निर्वाचन आयोगले दुवै निर्वाचनका लागि कात्तिक २८ गते दल दर्ताका लागि आह्वान गरेको थियो । आयोगले मंसिर १ देखि १० सम्म दल दर्ताको समय दिएको छ।

