
काठमाडौं,१५ मंसिर। भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर–जग्गासम्बन्धी कारोबार गर्न इजाजतपत्र लिन इच्छुक फर्म, कम्पनी वा संस्थाका लागि आवेदन म्याद थप गरेको छ। अब मंसिर २७ गतेसम्म आवेदन दिन सकिने छ।
यसअघि विभागले गत असोज १३ गते सूचना प्रकाशित गर्दै आवेदनका लागि सार्वजनिक आह्वान गरेको थियो ।

मालपोत ऐन, २०३४ अनुसार घर–जग्गाको कारोबार गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्था भए पनि सरकारले राजपत्रमा सूचना प्रकाशित गरी कार्यक्षेत्र स्पष्ट रुपमा तोकेको थियो। पहिलो चरणमा महानगरपालिका र उपमहानगरपालिका कार्यक्षेत्रका रुपमा परिभाषित गरिएका छन्।
एकपटकमा ३ करोडभन्दा बढीको कारोबार गर्ने इच्छुक फर्म, कम्पनी वा संस्थाले मात्रै इजाजतका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ। घर–जग्गा कारोबारलाई पारदर्शी, मर्यादित र वैज्ञानिक बनाउनै यस प्रक्रियाको उद्देश्य रहेको बताइएको छ।
विभागका अनुसार गत शुक्रबारदेखि लागू हुने गरी म्याद थप गरिएको हो। पहिलो चरणमा छ वटा महानगर र ११ उपमहानगर क्षेत्रमा घर–जग्गा कारोबार व्यवस्थित गर्ने उद्देश्यले कम्पनी दर्ताको प्रक्रिया अघि बढाइएको छ। पहिले आह्वान गरिएको सूचना अनुसार न्यून सङ्ख्यामा आवेदन परेकाले म्याद थपिएको हो।
यससँगै विभागले गत कात्तिकमा घर–जग्गा कारोबारबाट २ अर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९ बराबरको राजस्व संकलन भएको जनाएको छ। त्यस्तै सेवा कर २१ करोड ३४ लाख ४७ हजार ४१३, राजिष्टेशन शुल्क १ अर्ब ५० करोड ६२ लाख ९६ हजार १४, र पुँजीगत लाभकर ९९ करोड ७८ लाख ४४ हजार ३९२ संकलन भएको विभागले जनाएको छ।

