
काठमाडौं,२१ मंसिर। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणमा आठ अर्ब ३६ करोडको भ्रष्टाचार भएको दावीसहित पूर्वमन्त्रीहरु रामशरण महत, भीम आचार्य, रामकुमार श्रेष्ठ, दिपक अमात्य र पोष्टबहादुर बोगटीविरुद्ध आइतबार विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

त्यस्तै, सचिवहरु मधु मरासिनी, सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमनप्रसाद शर्मा, भेषराज शर्मालाई प्रतिवादी बनाइएको छ भने सहसचिवहरु रञ्जनकृष्ण अर्याल, मोहनकृष्ण सापकोटा, लोकबहादुर खत्री, सुरेश आचार्यलाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ।
यस्तै सञ्चालक समिति सदस्य मनरुप शाही, नागरिक उड्डययन प्राधिकरणका सदस्य ज्योति अधिकारी, मनोज कार्की, फुर्वा छिरिङ शेर्पा, सदस्य सचिव मदन खरेल, मुक्तिनारायण पौडेल, सूर्यप्रसाद आचार्यलाई पनि विपक्षी बनाइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीलाई पनि प्रतिवादी बनाइएको छ। दुवै जना नलिन्चोक हेलिपोर्ट निर्माणमा समेत अनियमितता गरेको भन्दै मुद्दा दायर भइसकेको छ।
चीनको ऋण सहयोगमा बनाइएको राष्ट्रिय गौरवको पोखरा विमानस्थल २०६५ देखि अध्ययन सुरु गरेर २०७९ मा निर्माण सम्पन्न भएको थियो। विमानस्थल घोटाला प्रकरणमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले समेत २०८२ वैशाखमा कैफियत देखाउँदै अख्तियारलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो। त्यसपछि अख्तियारले सुक्ष्म रुपमा छानविन अघि बढाएको थियो।
अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेकोबारे जानकारी दिँदै विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खरिद प्रक्रियामा अनियमितता भएको भन्दै ५५ जना व्यक्तिलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दादायर गरेको बताए। उनका अनुसार मुद्दामा आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार बिगो मागदाबी गरिएको छ।

