


काठमाडौं,१ पुस । नेपालमा अब ठूला दरका भारतीय नोट प्रचलनमा आउने भएको छ ।
मन्त्रिपरिषद् बैठकले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन गरिएका भारु २ सय र ५ सय दरका नोट नेपाल ल्याउन तथा भारत लैजान खुला गरिएको सूचना प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलले बताए ।

यसअघि भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले ठूला दरका भारु नोट नेपाल ल्याउन र लैजान पाउने व्यवस्था गरेको थियो ।
‘नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारु २५ हजार भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरिएको छ,’ मन्त्री खरेलले भने ।
सन् २०१६ मा भारत सरकारले उच्च दरका भारु नोटहरुमाथि प्रतिबन्ध लगाएपछि नेपालले पनि १ सयभन्दा बढीका भारु चलनचल्तीमा बन्देज लगाएको थियो । जसकारण सीमा क्षेत्रका बासिन्दा, व्यापारी तथा भारतमा काम गर्ने नेपालीहरुलाई कारोबारमा असहज भएको थियो। नेपाल राष्ट्र बैंकले लामो समयदेखि यी नोटहरु खुला गर्न पहल गरिरहेको थियो।
सन् २०१६ मा भारतले नोटबन्दी गर्दा नेपालको बैंकिङ प्रणालीमा रहेका ठूला दरका ५ करोड भारु अझै सम्म सटही भएको छैन ।

